रहेनन बृद्धाभक्ता दिने पूर्व अर्थमन्त्री अधिकारी



१८ फागुन, काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक यौद्ध एवं नेकपाका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ । आज ९ः३५ बजे अधिकारीको उपचारको क्रममा निधन भएको हो ।
.सं. १९९३ साल बैशाख २२ गते महोत्तरीको भमरपुरामा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारी देवीका कान्छा सुपुत्रका रूपमा जन्मनुभएका उहाँ सन् १९५२ मा भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध हँुदै अविभाजित कालदेखि नै नेपाल कम्युनिष्ट पार्टीमा निरन्तर सक्रिय हुनुहुन्थ्यो ।

पूर्व कोशी प्रान्तीय कमिटी, नेकपाको तेस्रो राष्ट्रिय महाधिवेशन, केन्द्रीय न्युक्लियस गठन र नेकपा (मनमोहन समूह) हुँदै उहाँ नेकपा (माक्र्सवादी)को उच्च नेतृत्वमा रही निर्दलीय पञ्चायती व्यवस्था विरूद्धको आन्दोलनमा क्रियाशील रहनुभयो । उहाँ विराटनगरमा स्थापित कानुन व्यवसायीका रूपमा समेत सक्रिय हुनुहुन्थ्यो । अर्थशास्त्रमा स्नातकोत्तर उहाँ बौद्धिक राजनीतिज्ञ हुनुहुन्थ्यो ।
नेपालको संविधान २०४७ को मस्यौदा गर्न र नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता सम्पन्न गर्न उहाँको महत्वपूर्ण योगदान रहेको थियो ।
२०५१ मा मनमोहन अधिकारीको प्रधानमन्त्रित्वमा गठित पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गर्नुभएको बजेटमा सर्वप्रथम ‘ज्येष्ठ नागरिक भत्ता’, ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रम, ‘नौ स’ अभियान जस्ता जनप्रिय र लोककल्याणकारी कार्यक्रम थालनी गरिएको थियो । खासमा बजेटप्रति सर्वसाधारण जनताको चासो र सरोकार सिर्जना गर्ने काम त्यसैबेलादेखि आरम्भ भएको थियो । दुई पटक उपप्रधानमन्त्री समेत रहिसक्नुभएका उहाँले चार पटक अर्थ मन्त्रालयसहित अन्य विभिन्न मन्त्रालयहरूको पनि जिम्मेवारी सम्हाल्नुभएको थियो ।
निरन्तर सक्रिय, विनम्र र मिलनसार व्यक्तित्वका रूपमा परिचित उहाँले आफ्नो करिब सात दशक लामो राजनीतिक जीवन कम्युनिष्ट आन्दोलनको विकास, विस्तार र अग्रगतिमा व्यतीत गर्नुभयो ।
नेपाली जनताका प्रिय नेता र जनप्रिय अर्थमन्त्रीका रूपमा उहाँको योगदान चीरकालसम्म स्मरणीय रहनेछ । उहाँका योगदानहरूको सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा उहाँको पार्थिव शरीर भोलि फागुन १९ गते विहान ९ः०० बजे देखि अन्तिम श्रद्धाञ्जलीका निम्ति राखिने भएको छ । उहाँकी श्रीमती सविता अधिकारी र तीन छोरीहरू लुना, लिमा र लिजा अधिकारी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्