रामेछापमा माइक्रो बस दुर्घटना एक जनाको निधन, घाइतेलाई काठमाडौं पठाइयो
२० फागुन, रामेछाप ।
रामेछापको मन्थली नगरापलिका–१ मन्थलीको आकाशे नजिक सोती भन्ने स्थानमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको निधन भएको छ । आज साझ साढे छ बजेको समयमा मन्थलीबाट दोलखाको मालुखोलातर्फ जादै गएको बा १ ज ९९०१ नम्बरको माइक्रो बस तीब गतिको कारण दुर्घटना भएको हो ।
गाडी दुर्घटना हुँदा मुस्ताङ जिल्ला थसाङ गाउँपालिका–४ घर भइ हाल झापा बस्दै आएका करिब ४० बर्षका रामप्रसाद तुलाचनको निधन भएको छ । घाइते तुलाचनको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले रामेछाप न्युजलाई बताए । उनका अनुसार सडकबाट गाडी करिब एक सय मिटर तामाकोसीको किनारमा पुगेको छ ।
दुर्घटनमा परी मन्थली नगरपालिका–२ की अन्जना खडका घाइते भएकी छिन् । घाइतेको मन्थलीमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ । प्रवक्ता अदालतका अनुसार गाडी चालक खाँडादेवी गाउँपालिका–४ पकरवासका २५ बर्षिय नारायण गिरीलाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख कुशहरि भण्डारीले तीब्र गतिको कारण गाडी दुर्घटना भएको जानकारी दिए । दुर्घटना भएको माइक्रो दोलखा भिमेश्वर प्रालि अन्तर्गत उक्त रुटमा सञ्चालन हुँदै आएको छ ।