कहिले बन्छ मन्थली नगरपालिकाको गुरु योजना ?



रामचन्द्र बि.क./राजन महतारा क्षेत्री
२२ फागुन, रामेछाप ।

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले चौथो नगरसभामा सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा भएको कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले आय व्यय विवरण प्रस्तुत गरेका गरे । उनले ७ महिनाको अवधिमा विकास बजेटको २४ प्रतिशत मात्रै रकम खर्च गर्न सकेको बताए ।
उनले चालु आर्थिक वर्षको लागि मन्थली नगरपालिकाको पूँजीतग वार्षिक बजेट कुल २८ करोड ८२ लाख १९ हजार रुपैयाँ रहेको र त्यसमध्ये १३ करोड ४७ लाख २३ हजार रुपैयाँ निकास भै सकेको बताए । विकास भएको रकमबाट विकासका काममा ३ करोड २९ लाख २५ हजार रुपैयाँ मात्र खर्च भएको छ ।


यो बजेट निकास भएको बजेटको २४ दशमलव ४३ प्रतिशत बजेट मात्रै रहेको नगरपालिकाले बताएको छ । नगरपालिका अन्र्तगत यस वर्ष ३ सय ९५ वटा योजना रहेकामा १ सय ६९ वटा योजनामा उभोक्ताहरु सम्झौता गर्न समेत आएका छैनन् ।

जम्मा १ सय २७ वटा योजना मात्र सझौता भई काम सुरु भएको वस्नेतल जानकारी दिए । हालसम्म ७२ वटा योजनाले मात्र काम सम्पन्न गरि अन्तिम भुक्तानी लिएका छन् । नगरपालिकाले ७ महिनाको अवधिमा आन्तरिक आयबाट १ करोड ५८ लाख ७३ हजार रुपैयाँ राजश्व उठाउन सफल भएको छ ।
पर्याप्त र दक्ष जनशक्तिको अभावमा सोचे अनुसार काम गर्न नसकेको नगरप्रमुख बस्नेतले बताए । उनले नगरपालिकाले हालसम्म गुरु योजना बनाउन नसकेको बताउदै गुरु योजना नबन्दा काम गर्न अप्ठ्यारो भएको बताए ।

नगरसभामा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, नेकपाका नेता आनन्द श्रेष्ठ, नेकपाका नेता प्रकाश कुमार कार्की, नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्की, गैसस महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ लगायतकाले समृद्ध नगर निर्माणमा सबै जिम्मेबार भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्