रामेछापकाे विर्तामा १ करोडमा सुनकोसीको पानी, कृषकमा खुसीयाली



२३ फागुन, रामेछाप ।
रामेछाप नगरपालिका–७ विर्तामा विर्ता लिफ्ट सिँचाई योजनाको परीक्षण सफल भएको छ । रामेछाप नगरपालिकाको उर्वर भूमि रहेको विर्तामा पानीको समस्याको कारण खेतबारी बाँझै रहँदै आएको थियो ।


विर्ताको काखमा सुनकोसी नदी बगिरहेको भएपनि नदीको नजिकै रहेको बस्तीका कृषकहरुले भने खेतीपातीमा समस्या भोग्दै आएका थिए । हायु समुदायका नागरिकहरुको बसोबास रहेको विर्तामा सुनकोसी नदीबाट लिफ्ट मार्फत पानी तान्ने काम सफल भएको हो ।


रामेछाप नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत २०७५/०७६ को २९ लाख १६ हजार ३ सय ८८ रुपैया लागतमा सिँचाई योजना निर्माण भएको रामेछाप नगरपालिकाका ईन्जिनियर कुशुम भट्टराईले जानकारी दिए ।

सिँचाईको काम २०७२/०७३ देखि सुरु भएको र यस बीचमा जनश्रमदान सहित लगभग १ करोड खर्च भएको वडा नम्बर ७ का वडाअध्यक्ष समिर कार्कीले बताए ।
अध्यक्ष कार्कीले अबको आर्थिक वर्षदेखि विर्ताको बाँझो फाँटहरुलाई हरियाली बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।


विर्ता लिफ्ट सिँचाई योजनाको विहिवार रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर, जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्षमण भुजेल ,वडा अध्यक्ष समिर कार्की , इन्जिनियरहरु कुशुम भट्ट्राई,तिलक श्रेष्ठ ,विक्रम हायु, लगातय टोलीले अनुगमन समेत गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्