सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवसः छोरी–बुहारीबीचको विभेद हटाउ



प्रमिला सुवेदी

‘लैङिगक समानता को लागि समान सोच र व्यवहार ,समृद्धि को आधार’ भन्ने नारा का साथ १०९ औ महिला दिवस मनाइदै छ । यो नारा आफैमा सुन्दर छ र पनि हामी महिलाहरुका मनमा सयौं प्रश्नहरु उब्जिएका छन्। भनिन्छ–महिला पुरुष एकै रथका दुई पाङ्गग्रा हुन । तर के भनाईजस्तै व्यवहार छ त ? हाम्रो समामा नारीले सही स्थान र समान सहभागीताको अवसर पाएका छन् त ?महिलाहरुको आन्दोलनबाट अधिकार प्राप्तिको दौरानमा राज्यले समान सहभागीताको केही संबैधानिक ब्यबस्था त गरेको छ । तर यो अपर्याप्त छ । यस विषयमा महिला दिवसको सन्दर्भमा छलफल चलाउनु जरुरी छ । एउटा नारीले राज्यबाट पाउनुपर्ने जुन सेवा सुबिधा सम्मान छ । त्यो पाएका छन त ?

घर परिवार समाज र सिङ्गो राष्ट्र नारीले भोगेको धार्मिक सांस्कृतिक र सामाजिक विभेदप्रति चिन्नित र संवेदनशील छ त ?यस्ता प्रश्न मनमा उब्जिएका छन् । गर्व लाग्छ–किनभने नारी सृष्टिकर्ता, सिर्जना कि स्रोत, दया माया करुणा प्रेमले भरिपूर्ण धर्तीमाता हुन् । नारीको अर्को नाम सहनशिलता पनि हो । नारीले हरेक कुरामा माया प्रेम सद्भाव बाडी रहेकी हुन्छिन । यति हुँदाहुँदै पनि हाम्रो समाजले नरीलाई छुट्टै दर्जाको रुपमा लिन्छ । आजको एक्काइशौं सताब्दिमा आइपुग्दा पनि नारीमाथि जुन भेदभाव नारीलाई हेरिने जुन साँघुरोपन छ, त्यसको पूर्णरुपमा अन्त्य हुन सकेको छैन । यो दुःखद कुरा हो । जबसम्म महिलालाई सामाजिक आर्थिक र राजनीतिक रुपान्तरणको अभियानमा समान सहभागीता गराइदैन, तबसम्म महिला पछाडि नै पर्दछन् । महिलालाई चुलोचौको र घरपरिवार सम्हालेर बस्न मात्रैमा सीमित राखेर होइन, राज्यको चौतर्फी बिकासका योजनामा सहभागी गराउन जरुरी छ ।

कानुनी हिसाबले केही प्रावधानको व्यवस्था त पछिल्लो संविधानले गरेको छ । तर पनि व्यवहार फरक छ । महिलाहरुलाई राजनीतिक सहभागीता त छ । तर कार्यकारी भूमिका दिएको छैन । बैठकहरुमा संख्या पुराउने मात्र होइन, नीति निर्माणमा सशक्त भूमिकामा राख्नु पर्दछ ।
हाम्रो देशमा महिलामाथि जुन प्रकारले हिंसा बढ्दै गैरहेको छ, त्यसलाई रोक्न सक्नुपर्छ । यसका निम्ति नेपाल सरकार र सम्बन्धित निकायले अहिले भएको कानुनलाई अझै कडा गरी छिटोभन्दा छिटो कार्यान्वयन गर्न जरुरी छ । नेपालमा महिलामाथि हुने हत्या हिंसा बलात्कार जस्ता जघन्य आपराधिक क्रियाकलाप बढदै गइरहेको छ ।

जसको कारण महिलालाई समाजमा खुलेर हिड्ने बोल्ने वातावरण नभएको महशुस हुन्छ । आफ्ना बुबा, काका,दाजुभाईलाईसम्म पनि विश्वास गर्ने वातावरण छैन् । पछिल्लो समयको घटनाक्रम हेर्दा आफ्नै परिवार दाजुभाईबाट समेत महिला हिंसा भएका सुनिन्छ्न । कसैलाई पनि आँखा चिम्लेर विश्वास गर्ने समय छैन यहाँ । गाउँ, समाज र राष्ट्रमा यस्ता घटना घटिरहदा दोषीलाई पहिचान गरी सजाय दिने कुरामा सम्बन्धित निकाय केही हदसम्म असफल भएको छ । ।यति मात्र हैन आज पनि दाइजो प्रथा र छाउपडी प्रथा कायमै छ । पुरुष र महिला कामको ज्यालामा विभेद छ । समाजमा यस्ता घटनाले दिनदिनै हामीलाई निरुत्साहित गर्दैछ ।
हाम्रो समाजमा अझैसम्म पनि नारीलाई एउटा सौन्दर्य र पुरुषहरूको मनोरञ्जनको साधनको रूपमा हेरिनुले पनि यस्ता घटना बढी भएको हो जस्तो लाग्छ । जबसम्म महिलालाई हेर्ने दृस्टिकोण बदलिदैन तबसम्म यस्ता घटना घटिनै रहन्छन् ।महिला सहनशीलताको प्रर्तिमुर्ति हुन् भन्दा पनि फरक पर्दैन । किनभने जब महिलाले सहन छाडिदिन्छन् कयौं घर बिग्रन पुग्छन् । आफ्नो जन्म घर, थर रहर परिवर्तन गरेर पनि म खुशी छु भन्ने आभाष सधैं देखाइरहन्छ्न् महिला । सदियौदेखि चलिआएको छोराछोरीमा जुन विभेद छ, हटाउन त्यति सजिलो त छैन ।

तर यसलाई तत्काल हटाउन जरुरी छ । हामी यस्तो सामाजिक परिवेशमा हुर्कियौ जहाँ छोरा भएर रुनु हुदैन भनिन्छ । यसको मतलब छोरी चैं रुनै पर्छ ? छोरीले धेरै बोल्नु हुन्न,यसको मतलब छोराले जतिसुकै बोले पनि हुन्छ ? छोरीलाई साझ परेपछि घर बाहिर जान हुदैन भन्ने समाज छोरालाई अर्को को छोरीचेली माथि गलत नजर कुविचार राख्न हुन्न भन्न सक्दैन । छोरीलाई हिड्ने बोल्ने काम गर्ने हरेक सीमा तोकिदिन्छ्न् । त्यहाँ भन्दा पर जानु हुदैन भनेर एउटा पुरुष साथीसँग खुल्ला मनले हिड्ने बोल्ने गर्यो भने महिलालाई गलत नजरबाट हेरिन्छ । यसको अन्त्य हुन जरुरी छ ।
महिला पुरुष पनि एक असल साथी हुनसक्छन् यो सोच्नुपर्छ । हामीले हाम्रो जुन साँघुरो सोचाई छ, त्यसलाई बदल्न जरुरी छ । सकारात्मक सोच आजको आबश्यकता हो । एउटा घर परिवार शिक्षित बनाउन महिलाको ठूलो भुमिका रहन्छ, त्यस कारण पहिला महिला आफू शिक्षित हुन पनि त्यतिकै जरुरी छ । छोराको लागि शिक्षित बुहारी खोज्ने समाज छोरी पढाउन भने हजार बार सोच्न पुग्छ । यसको खास कारण भनेको छोरीलाई शिक्षामा गरेको लगानी आफ्नो लागि नभई पराई घरमा जान्छ भन्ने पनि हो । खर्च गर्यो पढायो जमाउने बेला अर्काको घरमा भन्ने सोचाई बदल्नु पर्छ ।

वास्तममा भन्नु पर्दा बाबु आमालाई छोराछोरी दुबैले उत्तिकै माया ममता दिन्छन् ।झन् अहिले पछिल्लो समयमा त छोरा भन्दा पनि छोरीको बढी छहारी पाइरहेका छन् । छोराछोरीमा विभेद नगरांै राज्यको पहुँचवाला निकायमा समान सहभागीता गराउ बिकास निर्माणका कामदेखि लिएर महिला हक अधिकार र नीति निर्माण तहमा समेत समान सहभागीता होस् । यस्तो हुन सक्यो भने हामीले प्रत्येक भाषणमा गरेको महिलाप्रतिको सम्बोधनले सार्थकता पाउला भन्ने बिश्वास गर्न सकिन्छ ।
छोरा जन्माउनका लागि छोरीलाई गर्भमै हत्या गरिन्छ यस्तो जघन्य अपराध गर्नबाट बचौं । छोरी बुहारी बीचको विभेद हटाउ बुहारीलाई पनि छोरीलाइ जत्तिकै माया दिऊ । हाम्री छोरी पनि कसैकी बुहारी हुन्छन् भन्ने कुरा सधैं ख्याल राखौ । धर्म र संस्कारका नाममा महिलालाई पछाडि पर्ने खालका काम नगरौ । महिलाले गरेका राम्रो कामको समर्थन गरौं । खुट्टा तान्ने काम नगरांै । हुन त हाम्रो जस्तो पृतिसत्तात्मक देशमा यस्ता कुरालाई सहजै स्वीकार गाह्रो छ । हामी देश र समाजलाई समृद्ध बनाउने भनिरहेका छांै । यदी समाजलाई उन्नतिशील प्रगतिशील बनाउने हो भने हाम्रो
पृतिसत्तात्मक सोचलाई त्याग्न जरुरी छ । नारा भाषणले मात्र समानता आउदैन । समानता व्यवहारमा लागू हुनुपर्छ । राज्यले कानुनी कुराको प्रबन्ध गरेर मात्र हुन्न कार्यबन्यनको स्थिति अनुगमनमा ध्यान जानु पर्छ । पैतृक सम्पत्तीमा मात्र हैन, शिक्षाको पहुँचमा सबै महिलामा पुर्याउन सक्नुपर्छ । आज हाम्रो समाजमा नैतिक शिक्षाको अवस्था कमजोर भएको छ ।

सबै पक्षलाई जिम्मेवार बनाउन सकारात्मक सोचका साथ नैतिकवान बनाउनु जरुरी छ ।
अन्तिममा, के पुरुष के महिला दुबैले जिम्मेवारीका साथ संकीर्णताबाट माथि उठेर भेदभावको अन्त्य गर्ने अभियानमा लागौं । अनि मात्र महिला अधिकार प्राप्तिमा लाग्नेहरुका लगि सम्मान हुनेछ । नारी दिवसको सार्थकता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्