उमाकुण्ड गाउँपालिकालाई ४ करोड ६८ लाख विशेष अनुदान



२८ फागुन, काठमाडौं ।
संघीय सरकारले रामेछापको उमाकुण्ड गाउँपालिकालाई ४ करोड ६८ लाख विशेष अनुदान प्रदान गरेको छ । गाउँपालिकाभित्रको सडक निर्माण र स्तरउन्नती गर्नको लागि उक्त बजेट प्रदान गरिएको हो । अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७५÷०७६ को ‘समपुरक तथा विशेष अनुदानको मार्गदर्शन’ सम्बन्ध शीर्षमा उमाकुण्ड गाउँपालिकालाई विशेष अनुदान सम्बन्धी कार्यविधि अनुसार बजेट प्रदान गरेको बताएको छ ।


उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले अर्थ मन्त्रालयले प्रदान गरेको बजेट सडक निर्माणमा खर्च गरिने बताए । उनले रामेछाप न्युजसँग भने,‘वडा कार्यालयदेखि गाउँपालिकाको केन्द्रसम्म जोडने सडकको स्तरउन्नतीमा बजेट खर्च हुन्छ, हामीले गाउँपालिकाभित्रको ७० किलोमिटर सडक व्यवस्थित बनाउने सोच बनाएका छौं ।’

गाउँपालिकाले तयार गरेको डिपिआर अनुसार अर्थ मन्त्रालयले विशेष अनुदान प्रदान गरेको अध्यक्ष सुनुवारले जानकारी दिए । अर्थ मन्त्रालयले उपलब्ध गराएको बजेट तोकिएको योजना भन्दा बाहिर गाउँपालिकाले खर्च गर्न भने नपाउने छैन् ।


उमाकुण्ड गाउँपालिकाको यस आर्थिक बर्षको लागि करिब १२ करोड विकास बजेट रहेको छ । यस आर्थिक बर्षमा हालसम्म गाउँपालिकाले ५० प्रतिशत विकास बजेट खर्च गरिसकेको बताउदै अध्यक्ष सुनुवारले आगामी वैशाक महिनाभित्र सबै विकास बजेट खर्च गरिसक्ने कार्य योजना तयार गरेर काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्