सुनापती गाउँपालिकालाई निशुल्क जग्गा दिने जग्गादाता सम्मानित



२८ फागुन, रामेछाप ।
सुनापती गाउँपालिकाले निशुल्क रुपमा गाउँपालिकालाई जग्गा प्रदान गर्ने जग्गा दातालाई सम्मान गरेको छ । निशुल्क रुपमा ८० रोपनी जग्गा उपलब्ध गराउने जग्गादातालाई गाउँपालिकाले सम्मान गरेको हो । सुनापती गाउँपालिका–३ हिलेदेवीस्थित साँदिडाँडाका स्थानीयले गाउँपालिकालाई निशुल्क रुपमा जग्गा प्रदान गरेका थिए । गाउँपालिकाका अध्यक्ष धावा लामाले जग्गा दाताहरुले निशुल्क रुपमा जग्गा उपलब्ध गराएर गाउँपालिकालाई ठूलो गुण लगाएको बताए ।
जग्गा दिने तीस जनालाई गाउँपालिकाले प्रमाणपत्र, दौसला ओढाएर सम्मान गरेको हो । प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्ट लगायतले सम्मान गरेका थिए ।


निशुल्क रुपमा जग्गा प्रदान गर्नेहरुमा गाउँपालिका–३ हिलेदेवीाका राज कुमार जोशी, पन्जा थिङ, चुधीलाल श्रेष्ठ, अर्जुन खड्का, लाल बहादुर श्रेष्ठ, मानबहादुर पाण्डे, गणेश बहादुर पाण्डे, सुनमाया श्रेष्ठ, सीतामाया श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, पदम बहादुर तामाङ, पूर्णसिंह योञ्जन, दल बहादुर थिङ (बाटोमुनी), रंग बहादुर श्रेष्ठ, रामकाजी श्रेष्ठ, तुलसी कार्की, सञ्चवीर थिङ, नर बहादुर थिङ, देवान सिंह तामाङ, मोहन कुमार थिङ, चन्द्र बहादुर थिङ, राम कुमार श्रेष्ठ, वीर बहादुर श्रेष्ठ,रामकृष्ण खत्री, भोज बहादुर थिङ, लाल बहादुर थिङ, लवाङ्ग तामाङ, कान्छी तामाङ, धन बहादुर तामाङ, फत्त बहादुर तामाङ रहेका छन् ।


करिब एक बर्ष अघि गाउँपालिकाको स्थायी संरचना निर्माणको लागि जग्गा खरिद गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको थियो । लगत्तै स्थानीयले गाउँपालिकालाई ८० रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराएका थिए ।

गाउँपालिकाका गठित जग्गा खरिद समितिको उपसमितिको संयोजक बिबी तामाङको संयोजकत्वमा गठित समितिले निशुल्क रुपमा जग्गा उपलब्ध गराएर जग्गा धनीको हस्ताक्षर सहितको माइन्युट गाउँपालिकालाई बुझाएको थियो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले पास गर्न बाँकी जग्गा एक महिनाभित्र पास गरिसक्ने गरी काम अगाडि बढाइएको बताए । उनका अनुसार केही प्राविधिक कारणले रोकिए पनि पुनः अगाडि बढाइएको छ ।


जग्गा उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका बिबी तामाङले निशुल्क रुपमा जग्गा गाउँपालिकालाई उपलब्ध गराउन पाएकोमा खुसी लागेको बताए । उनले भने,‘समाजमा लिनु मात्र पर्छ भन्ने मान्यता छ तर हिलेदेवीका बासिन्दाले निशुल्क रुपमा जग्गा उपलब्ध गराएका छन् ।’

निशुल्क रुपमा प्राप्त गरेको गरेको जग्गाको डिटेल प्राजेक्ट रिपोर्ट (डिपिआर) निर्माण गरेर मात्र भौतिक संरचनाको काम अगाडि बढाउने तयारी गाउँपालिकाले गरेको छ । सुरुमा अस्थायी रुपमा बसेको गाउँपालिकाको भवनको जग्गा पनि गाउँपालिकाले निशुल्क रुपमा प्राप्त गरेको छ । स्थानीयले निशुल्क रुपमा नै जग्गा उपलब्ध गराएपछि गाउँपालिकाको करोडौ रुपैयाँ जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्