दस बर्षपछि ठडियो रामेछाप–सिन्धुली जोडने पुल



नारायण श्रेष्ठ

२९ फागुन, रामेछाप । दस बर्ष अघि निर्माण कार्य सुरु भएको रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणले गति लिएको छ । निर्माण कम्पनीले चार वटा पिलर निर्माणसँगै पुलको ढलान र स्टील ट्रष्ट जडानको काम सम्पन्न गरेको छ । जनप्रतिनिधि र स्थानीयले चर्को दबाब दिएपछि यस आर्थिक बर्षमा सम्पन्न गर्ने गरी पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
दस बर्ष तीन बर्षभित्र सम्पन्न गर्ने सम्झौता भएपनि निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले पुल निर्माणको काममा ढिलासुस्ती गर्दा बर्षोदेखि काम अलपत्र पर्दै आएको थियो । हरेक बर्ष पुल सम्पन्न हुने आशामा रामेछापवासीले दस बर्षपछि अब भने पुल उपभोग गर्न पाउने भएका छन् । दस बर्षको अवधिमा निर्माण कम्पनीले पटक–पटक पुल निर्माण गर्ने लिखित सम्झौता गरेपनि कार्यान्वयन गर्न सकेको थिएन ।

रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाले पटक–पटक पुल महाशाखा र डिभिजन सडक कार्यालय खुर्कोटमा दबाब दिएपछि निर्माण कम्पनीले पुल निर्माणमा चासो देखाएको थियो ।
पुल निर्माण जिम्मेवारी पाएको खम्पाचे÷लामा÷कन्काई जेभीलाई कालोसूचिमा राख्ने सूचना प्रकाशित गरेको थियो । सूचना प्रकाशित भएपछि केही काम अगाडि बढेपछि गति लिन सकेको थिएन । बर्षाको समयमा सुनकोसी नदीमा पानीको बहाप बढी हुने भएको कारणले काम गर्न नसकिने र हिउदको समयमा पनि बर्षा लाग्ने बेलामा मात्र ठेकेदारले केही काम गरेर बिल बनाउने गरेको थियो ।

निर्माणको मुख्य जिम्मेवारी लिएको लामा÷खम्पाचे÷ कन्काई जेभी मध्यका कन्काई निर्माण सेवाका सञ्चालक राम मैलानीले यसै बर्ष गाडी गुडाउने गरी काम भइरहेको बताए । उनले भने,‘काम अन्तिम चरणमा पुगेको छ, कोसीमा मुख्य काम ट्रष्ट जडानको काम भइसकेको छ, अब फिनिसिङको काम बाँकी छ, त्यसलाई पनि समयमा नै सम्पन्न गछौं ।’
विगततिर फर्किन आफू नचाहेको बताउदै उनले काम अरुले गरेपनि आफूले पुनः जिम्मेवारी लिएर पुल निर्माणको काम तीब्र गतिमा अगाडि बढाइएको बताए ।
दस बर्षको अवधिमा सुनकोसीतर्फ तीन वटा पिलर मात्र निर्माण भएको थियो । करिब ८ करोड रुपैयाँमा निर्माणाधिन पुल निर्माणको क्रममा डिजाई परिवर्तन हुँदा निर्माणमा ढिलाई भएको गुनासो निर्माण कम्पनीले गरेको छ । करिब ८३ मिटर लम्बाईको पुल सुनकोसी नदीमै छोटो पुलको रुपमा रहेको छ ।

रामेछाप जिल्ला प्रमुख नाकाको रुपमा रहेको निमार्णाधिन पक्की पुल समयमा नै निर्माण नहुँदा सास्ती झेल्दै आएको स्थानीय राज मैनाली बताए । राजधानी काठमाडौंबाट करिब ९० किलो मिटर दुरीमा रहेको सिन्धुली, काभ्रे र रामेछापको संगमस्थल कुशेश्वर दुम्जास्थित खैरनीघाटमा निर्माणाधिन पुल समयमा निर्माण नहुँदा रामेछापवासीले ठूलो सास्ती खेप्दै आएका छन् ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले समयमा नै पुल निर्माण नहुँदा रामेछापवासीले ठूलो हैरानी र सास्ती खेप्दै आएको बताए । उनले भने,‘पटक–पटक भेटर ध्यानाकर्षण गराएपछि अहिले पुल निर्माणको कामले गति लिएको छ, आशा गरौ यस बर्ष पुल निर्माणको काम सम्पन्न भएर गाडी गुडछ ।’
अहिले सञ्चालन भइरहेको विपी राजमार्गसंगै निर्माणाधिन पुल सम्पन्न भएपछि रामेछापका वासिन्दाले तराई र राजधानी काठमाडौं आवतजावत गर्न सहजो हुनेछ । पुल निर्माण भएपछि रामेछापका स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य उत्पादन विक्रिवितरण गर्न हुनुकै साथै पर्यटकीय सम्भावना बोकेर बसेका सुनापती गाल्वा र दोरम्बा लगायतका स्थानको विकासमा टेवा पुग्नेछ ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बारम्बार भेटेर दबाब दिएपछि पुल निर्माणको काम आशालाग्दो ढंगेल अगाडि बढेको बताए । उनले भने,‘धैरै पटक पुल निर्माण गर्नको लागि पुल महाशाखा, सडक डिभिजन कार्यालय खुर्कोटमा धाइयो, तर निर्माण कम्पनीले यस पटक इमान्दरीताको साथ काम गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्