भूकम्प प्रभावित जिल्लाहरुमा चैत्र १५ बाट छुट सर्वेक्षण सुरु हुने



काठमाडौं, चैत्र १ l लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । यही चैत्र १५ देखि सम्पूर्ण भूकम्प प्रभावित जिल्लामा प्राधिकरणबाट हरेक स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत् स्थलगत लगत संकलन गरिन लागिएको हो ।
निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नु पर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा सर्वेक्षण हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरले जानकारी दिनुभयो । 


घिमिरेका अनुसार छुट तथा पुनःजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोहरुको पनि सर्वेक्षण गर्न लागिएको हो । 
प्राधिकरणका सहप्रवक्ता एवं यस सर्वेक्षणको समन्वय गरिरहनु भएका प्राधिकरणका उपसचिव मनोहर घिमिरले यही चैत्र १५ बाट सर्वेक्षण सुरु हुने र यसमा करिब ५ सय ५० इञ्जिनियरहरु परिचालन गरिने जानकारी दिनुभयो ।
‘कुनै वास्तविक पीडित नछुटुन् भनेर स्थानीय जनप्रतिनिधिहरुको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको छ ।’ 
प्राधिकरणले स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत् तोकिएको समयमा आआफ्नो लगत संकलन गराउन सबै गुनासोकर्ताहरुलाई अनुरोध गरेको छ । त्यसैगरी, सम्पूर्ण स्थानीय तहका पदाधिकारीहरुलाई वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गरिदिन पनि प्राधिकरणले आग्रह गरेको छ । 
प्राधिकरणले यस सर्वेक्षण सम्बन्धमा थप जानकारी चाहिएमा सम्बन्धित जिल्लाका जिल्ला आयोजना कार्यान्वयन इकाईमामा सम्पर्क गर्न वा पैसा नलाग्ने टेलिफोन नम्बरहरु १६६०–०१–७२००० र ९८०१५–७२१११ मा फोन गर्न सम्बन्धितलाई अनुरोध गरेको छ । 
छुट तथा पुनः जाँच सर्वेक्षणका लागि भूकम्पप्रभावित ३२ वटै जिल्लाका फोकल इञ्जिनियर तथा डिस्ट्रिक्ट सर्पोट इञ्जिनियरहरुका लागि ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणबाट प्रशिक्षित इञ्जिनियरहरुले आ–आफ्नो जिल्लामा गएर सर्वेक्षणमा खटिने इञ्जिनियरलाई तालिम दिनेछन् ।
२०७६ बैशाख मसान्त सम्ममा सर्वेक्षण सक्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्