सुनापती गाउँपालिकामा ३८८ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा



२ चैत्र, रामेछाप ।
सुनापती गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुनापती गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ३ सय ८८ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाको आयोजनमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा र नेपाल क्यान्सर सहयोग समुह सुनापतीको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा पाठेघरको मुखको क्न्यासर र स्तन क्यान्सर रोग लायातको बारेमा परामर्श एवं परीक्षण गरिनुको साथै निशुल्क रुपमा औषधी वितरण गरिएको थियो ।

सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले ३२२ जना महिला र ६५ जना पुरुषहरुले स्वास्थ्य शिविरबाट सेवा लिएको बताए । उनका अनुसार गाउँपालिकाका नागरिकहरुलाई गाउँघरमा नै स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

गाउँपालिकाको व्यवस्थापन र क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरबाट सेवा पाएपछि नागरिकहरु खुसी भएका छन् ।
स्वास्थ्य शिविरमा डा. राजिब, डा. आयुषा लगायतको टिमले स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य शिविरलाई सफल बनाउन स्वरुपा श्रेष्ठ, राजकुमार गौतम, कर्णखर चौलागाईले सहयोग गरेका थिए । निशुल्क रुपमा स्वास्थ्य सेवा लिनको लागि गाउँपालिकाको ५ वटै वडाका नागरिकहरु सहभागी भएका थिए ।


स्वास्थ्य शिविर कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गिता विष्ट, सुनापती गाउँपालिका–३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्