रामेछाप–काभ्रे जोडने सुनकोसी पुलको काम ४० प्रतिशत सकियो



४ चैत्र, रामेछाप ।
रामेछाप–काभ्रे जोडने सुनकोसीस्थित सिन्दुरेटारमा निर्माणाधिन पक्की पुलको काम चालिस प्रतिशत सम्पन्न भएको छ । एक बर्ष अघि निर्माण सुरु भएको पुलको चार वटा पिलर निर्माण सम्पन्न भइसकेको छ भने दुई वटा पिलर निर्माणको चरणमा रहेको छ । रामेछापको सुनापती गाउँपालिका–४ बेथानस्थित सिन्दुरेटार र काभ्रेको तेमाल गाउँपालिका मुक्पाटार जोडने पुल निर्माणको कामले गति लिएपछि स्थानीय उत्साहित भएका छन् ।

पुल निर्माण भएपछि रामेछापलाई राजधानी काठमाडौंलाई जोडने पक्की पुल निर्माणले कृषि र पर्यटनमा ठूलो टेवा पुयार्उनेछ । २ सय १० मिटर लामो पक्की पुल १९ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको हो । टेण्डी÷शर्मा जेभी निर्माण सेवाले पुल निर्माणको काम गरिरहेको छ ।
सम्झौता अनुसार पुल २०७६ सालमा पुल निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

६ वटा पिलर रहने आरसिसी पुलको चौडाई ७ .५ मिटर रहेको छ । सुनकोसी नदीमा निर्माणाधिन पुल हाल निर्माणको चरणमा रहेको मध्य पहाडी लोकमार्गसँग जोडिने छ । हाल लभु–खुर्कोट खण्डको सडक निर्माण भइरहेको छ । पुल निर्माण भएपनि मध्य पहाडी लोकमार्ग हुँदै विपी हाइेव जोडन सहज हुने भएको छ ।
पुल निर्माणको जिम्मेवारी पाएका टेन्डी÷शर्मा जेभीका रामबहादुर खत्रीले पुल निर्माणको काम तीब्र गतिमा अगाडि बढेको बताए । उनका अनुसार आगामी जेठसम्म पुल निर्माण सम्पन्न हुनेछ ।
‘डिजाइनमा केही परिवर्तन आएको छ, हामीले कामलाई तीब्रता दिएका छौ’, खत्रीले रामेछाप न्युजसँग भने,‘एउटा समुह पुल जसरी पनि समयमा नै निर्माण गर्नु पर्छ भनेर सहयोग गरिरहको छ, अर्को समुह भने घुमारो शैलीमा अवरोध सृजना गर्ने गरी दबाब दिइरहेको छ ।’ आफूहरुले सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्