महतको घटनामा संलग्न दोषी छिटो सार्वजनिक गर्नुपर्छः अध्यक्ष लामा



चैत्र ५, रामेछाप ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले डहु माविका शिक्षक मोहन महतको हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरेर सार्वजनिक गर्न माग गरेका छन् । महतको निधनले विद्यालय र गाउँपालिकालाई ठूलो पुगेको बताउदै अध्यक्ष लामाले दोषीको पहिचान गरेर तत्काल सार्वजनिक गर्नुपर्ने बताएका हुन् । उनले दोषी पहिचान गराउने सन्दर्भमा गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर ।
फागुन २१ गते राती डहु माविको होस्टलबाट शौचालय जाने क्रममा बेहोस अवस्थामा विद्यालयका शिक्षकहरु महतलाई फेला पारेका थिए । लगत्तै उनलाई उपचारको लागि काठमाडौं लगिएको थियो ।
१२ दिन केएमसी अस्पतालमा उपचार गरिए पनि घाइते शिक्षक महतको स्वास्थ्यमा सुधार आउन सकेन र चैत्र ३ गते उपचारको क्रममा महतको निधन भयो । उनको निधन भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।
डहु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सुनापती गाउँपालिकाका–४ बेथानका वडा अध्यक्ष खड्ग बहादुर घिसिङले मृतक महतको आज पोष्टमार्टम हुने रामेछाप न्युजलाई बताए ।
उनका अनुसार हिजो प्रहरीको रिपोर्ट नभएको कारण पोष्टमार्टम हुन सकेको थिएन । मृतक महतको शव त्रिभुवन शिक्षण अस्पताल महारागञ्जमा राखिएको थियो । वडा अध्यक्ष घिसिङले घटनामा संलग्न भएका आशंकामा थप चार जना व्यक्तिलाई सोधपुछ गर्न प्रहरीलेले लगेको बताए ।

प्रतिक्रिया दिनुहोस्