एकै रातमा सुनकोसी नदी रामेछापतर्फ फर्काइयो



५ चैत्र, रामेछाप ।
सुनकोसी नदी दोहन अत्याधिक रुपमा बढेको छ । सुनकोसी नदीमा रहेको बालुवा ढुंगाबाट आम्दानी हुने भएपछि रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिकाले करोडौ मुल्यमा ठेक्का लगाएको छ । ठेक्का सम्झौता गरेर बालुवा उत्खननको काम भइरहेको छ ।

गाउँँपालिकासँग सम्झौता गरेर ठेक्का लिएपछि सुनकोसी गाउँपालिकाको तर्फबाट ठेक्का लिएको कम्पनीले भने सिन्धुलीमा बहने नदी एक रातमै रामेछापतर्फ फर्कादिएको छ । स्थानीयका अनुसार सोमवार रातीभर स्काभेटर लगाएर सिन्धुलीतर्फ बगेको नदीको धार परिवर्तन गरी रामेछापको बगरतर्फ बगाइदिएको हो ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–२ साँदिडाँडा र रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बोगटे भन्ने ठाउँमा नदीको धार परिवर्तन गरिएको हो । यस अघि पनि सुनकोसी गाउँलिकातर्फबाट ठेक्का लिएको कम्पनीले ह्युमपाइप हाल्ने काम गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रोक लगाएको थियो । तर प्रशासनलाई चुनौती दिदै नदीको धार परिवर्तन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले सुनकोसी नदीको धार परिवर्तन गरिएको बताउदै गलत काम गर्नेलाई कारवाही हुने बताए । उनले रामेछाप न्युजसँग भने,‘सिन्धुलीतर्फ बहने नदीलाई रामेछापतर्फको बगरमा फर्काएको पाइएको छ, नदी फर्काउनेहरु फरार छन, खोजी भइरहेको छ ।’ नदी फर्काउने काम गलत भएकाले दोषीमाथि कानुन अनुसार कारवाही हुने उनले बताए । नदीको धार परिवर्तन गरिए पनि साविकै स्थलबाट बहने व्यवस्था मिलाउछौ, एसपी सिंहले भने ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले सिन्धुलीतर्फबाट सुनकोसी नदी फर्काउने काम भएकाले सिन्धुलीको प्रशासनसँग समस्या समाधान गर्नको लागि पहल भइरहेको बताए । ‘नदीको धार परिवर्तन गर्ने काम कानुन विपरीत हो, यस अघि पनि सुनकोसीमा अवधै रुपमा हालिएको ह्युम पाइप हटाएर निर्वाध रुपमा नदी बग्ने काम गरिसकेका छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्