प्रदेश सरकारको उपहारः रामेछापका नगरपालिकामा दमकल र गाउँपालिकालाई एम्बुलेन्स



६ चैत्र, रामेछाप ।
देश नंबर ३ सरकारले प्रदेश तीनभित्र पर्ने सबै स्थानीय तहलाई दमकल तथा एम्बुलेन्स दिने भएको छ । प्रदेश नंबर ३ को १ सय १९ स्थानीय तहलाई प्रदेश सरकारले एम्बुलेन्स तथा दमकल सहयोग गर्न लागेको हो ।
तीन नम्बर प्रदेश सरकारले महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकालाई दमकल तथा गाउँपालिकालाई एम्बुलेन्स दिन निर्णय गरेको छ । प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालयले प्रदेशको सबै स्थानीय तहमा एम्बुलेन्स तथा दमकलको लागि आवश्यकताको विवरण उपलब्ध गराउनको लागि स्थानीय तहलाई पत्रचार गरेको हो ।
अहिलेको समयमा पनि एम्बुलेन्स नहुँदा ग्रामिण क्षेत्रका विरामीहरुले अकालमा ज्यान गुमाउनु पर्ने बाँध्यता रहेकोले प्रदेश सरकारले सबै स्थानीय तहमा कम्तिमा एउटा एम्बुलेन्स उपलब्ध गराउने काम अगाडि बढाएको प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।


खासगरी नगर क्षेत्र भन्दा गाउँ क्षेत्रमा एम्बुलेन्सको आवश्यकता धेरै भएकोले पनि सरकारले गाउँपालिकालाई एम्बुलेन्स दिने कामलाई प्राथमिकतामा दिएको मन्त्री ढुंगेलले जानकारी दिए ।
शहरी क्षेत्रमा पर्ने महानगरपालिका, उपमहानगरपालिका तथा नगर क्षेत्रमा भने आगलागी भएको अवस्थामा दमकल नहुँदा जनधनको क्षति हुने गरेको भन्दै नगरपालिकाले कम्तिमा एउटा दमकल अनिवार्य आवश्यक रहेकाले प्रदेश सरकारले दमकल उपलब्ध गराउन लागेको हो । अधिकाशं महानगरपालिका र उपमहानगरपालिकामा दमकल रहेपनि नगरपालिकाहरुमा भने दमकलको अभाव रहेको छ ।


रामेछाप जिल्लाको मन्थली नगरपालिकामा मात्र दमकल रहेको छ । दुई नगरपालिका रहेको रामेछाप नगरपालिकामा भने दमकल छैन् । रामेछापको सुनापती गाउँपालिका, दोरम्बा गाउँपालिका, खाँडादेवी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, लिखु तामाकोसी गाउँपालिकाले अब एम्बुलेन्स पाउने भएका छन् । त्यसैगरी रामेछाप नगरपालिकाले दमकल पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्