महतको शव अस्पलतालमा अलपत्र, पीडित पक्ष र विद्यालयबीच कुरा मिलेन



६ चैत्र, काठमाडौं । विद्यालय परिसरमा अज्ञात समुहको आक्रमणमा परी घाइते भएका डहु माविका शिक्षक मोहन महतको शव टिचिङ अस्पतालमा अलपत्र परेको छ । पीडित पक्षले शिक्षक महतको दुई छोरालाई पढाउन र परिवारलाई आर्थिक सहयोग गर्नुपर्ने माग अघि सारेका छन भने विद्यालयले दाहसंस्कार खर्च मात्र उपलब्ध गराउन सक्ने बताएपछि सहमति जुटन सकेको छैन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग बहादुर घिसिङले मृतक शिक्षक महतको सम्पूर्ण उपचार खर्च विद्यालयले व्यवस्थापन गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘महतका आफन्तले क्षतिपूर्ति माग गर्नुभएको छ, विद्यालयसँग दिने स्रोत छैन, हामी दाहसंस्कार गर्नको लागि आवश्यक रकम उपलब्ध गराउछौं ।’ अध्यक्ष घिसिङले महतले प्राप्त गर्नुपर्ने चार महिनाको तलब उपलब्ध गराउने बताउदै दोषीलाई पत्ता लगाउन सक्दो सहयोग गर्ने बताए ।

मृतक महतको ८ बर्षिय छोरा प्रसन्त महत कक्षा १ मा अध्ययनरत छन भने कान्छो छोरा लाल महत भर्खरै विद्यालय भर्ना भएका छन् । मृतकका काका तिलक महतले छोराको निधनले परिवारमा ठूलो पीडा परेको बताए । उनले रामेछाप न्युजसँग भने,‘साना–साना दुई छोरा छन, उनीहरुलाई शिक्षा दिनुपर्छ, बुहारीको मन कसरी बुझाउने हो ? हामीले विद्यालयसँग छोराहरु र परिवारको लागि केही आर्थिक सहयोग गरिदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छौं ।’

पक्राउ गरेर अनुसन्धान गरिरहका छौः डिएसपी भट्टराई
डहु माविका शिक्षक मोहन महतको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी सन्तोष भट्टराईले बताए । उनले रामेछाप न्युजसँग भने,‘कल डिटेलको आधारमा विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौ, हामी छिट्टै नै दोषी पहिचान गरेर सार्वजनिक गछौं ।’ घटनामा संलग्न भएको आशंकामा प्रहरीले छ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्