सुनापती गाउँपालिकाको दिमीपोखरीमा खेलमैदान निर्माण धमाधम



चैत्र १०, रामेछाप ।
सुनापती गाउँपालिका–२ दिमीपोखरीमा शहीद स्मृति खेल मैदान निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ । गाउँपालिकाकै ठूलो खेल मैदानको रुपमा निर्माण गर्न लागिएको हो । प्रदेश नम्बर ३ सामाजिक विकास मन्त्रालयको ३० लाख र ७ लाख स्थानीयवासीकाे श्रमदान गरी खेल मैदानको काम अगाडि बढेको छ ।

शहीद स्मृति खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष होमराज खपाङ्गी मगरले खेल मैदानको पचास प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाभरीकै व्यवस्थित खेलमैदानको रुपमा विकास गर्ने लक्ष्य लिएका छौं ।’

खेल मैदान निर्माण भएपछि करिब ४५ सय नागरिकहरु लाभान्वित हुने बताउदै खेलकुद मैदान निर्माणसँगै खेलाडी उत्पादन गर्ने कामलाई पनि अगाडि बढाउने मगरले बताए ।
कालीदेवी फलामपोखरी सामुदायिक वनले खेल मैदानको लागि निशुल्क रुपमा जग्गा उपलब्ध गराएको छ । एक सय मिटर लम्बाई र ७० मिटर चौडाई रहेको खेल मैदान गाउँपालिकाकै ठूलो भएको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्