रामेछापमा किरियापुत्रीले पनि दिए एसईई परीक्षा



चैत्र १०, रामेछाप ।
आजबाट सुरु भएको एसईई परीक्षामा रामेछापका एक विद्यार्थी किरिया बसेकै अवस्थामा परीक्षामा सहभागी भएका छन् । दोरम्बा गाउँपालिका–६ लखनपुरको कालिका नमुना माविमा अध्ययरत विद्यार्थी राम गौतम किरिया बसेकै अवस्थामा एसईई परीक्षामा सहभागी भएका हुन् । परीक्षामा सहभागी भएका विद्यार्थी गौतमको घर पनि लखनपुर नै हो ।

परीक्षामा सहभागी विद्यार्थी राम गौतमका बुबा गणेश गौतमको यही चैत्र ८ गते निधन भएको थियो । किरिया बसेको दुई दिनपछि नै बुबाको निधन भएको पीडाकोबीच उनी परीक्षामा सहभागी भएका छन् । विद्यार्थी गौतम परिवारको एक मात्र छोरा हुन् । उनका आठ जना दिदीबहिनी रहेका छन् ।
कालिका नमूना माविको परीक्षा केन्द्र सुनापति गाउँपालिका–२ दिमीपोखरीको कृष्ण वर्णेश्वर मावि मानपुरमा भएपनि शिक्षा विकास तथा समन्वय इकाई रामेछाप र जिल्ला प्रशासन कार्यालयकाे अनुमतिमा अध्ययनरत विद्यालय कालिका माविमै गौतमले परीक्षा दिएका छन् ।

दोरम्बा गाउँपालिका प्रवक्ता समेत रहेका गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेलले समन्वय इकाई र जिप्रकासँग समन्वय गरेर अध्ययनरत विद्यार्थीलाई कालिका माविमै परीक्षा दिने व्यवस्था मिलाइएको रामेछाप न्युजलाई बताए । उनका अनुसार परीक्षार्थी गौतमले लखेको उत्तरपुस्तिका दैनिक परीक्षा सम्पन्न भएपछि खामबन्दी गरी छाप लगाएर राख्ने र परीक्षा सम्पन्न भएपछि जिल्ला शिक्षा समन्वय कार्यालय रामेछापमा बुझाइने छ ।

कालिका माविका प्रअ नेत्र प्रसाद गौतमले परीक्षा सम्पन्न भएपछि अन्य उत्तरपुस्तीका बुझाएझै गौतमले लेखेको उत्तरपुस्तिका पनि बुझाउने रामेछाप न्युजलाई जानकारी दिए । किरिया बसेकै अवस्थामा परीक्षा दिने गौतम उमेरले १६ बर्ष पुगेका छन् । बुबाको मृत्युको पीडाको बीच एसईई परीक्षामा सहभागी भएको रामेछापमा यो पहिलो घटना हो ।

हिन्दु संस्कार अनुसार किरियामा बस्दा गर्नुपर्ने संस्कार गर्दै गौतम परीक्षामा पनि सहभागी भएका छन् । विद्यार्थी गौतमलाई उनका आफन्तले करिब ४५ मिटने टाढाबाट ल्याउने लैजाने गरेको अध्यक्ष गजुरेलले जानकारी दिए । एसईई परीक्षा अन्तर्गत पहिलो दिन अग्रजी विषयको परीक्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्