दोरम्बाको डाडाँकटेरीमा २१ जना शहीदको अर्धकदको शालिक बन्दै



१२ चैत्र, रामेछाप ।
दोरम्बा हत्याकाण्डकाे घटनाले चर्चित दोरम्बा गाउँपालिकाको डाडाँकटेरीमा जनयुद्धकाे समयमा शहीद भएका २१ शहीदको अर्धकदको शालिक निर्माण हुने भएको छ । २०६० साल साउन ३२ गते तत्कालिन शाही नेपाली सेनाले दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन माओवादी रामेछापका जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ सहित २१ जनाको सामुहिक हत्या गरेकाे थियो ।
डाडाँकटेरीलाई युद्ध पर्यटकीय क्षेत्रको रुपमा चिलाउनको लागि दोरम्बा गाउँपालिकाले पनि कार्यक्रम अगाडि बढाएको छ । दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले डाडाँकटेरीको विकासको लागि आफूहरु लागि परेको बताए ।
रामेछापका प्रतिनिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले डाँडाकटेरीको विकासको लागि आफू लागि परेको बताउदै हत्याकाण्डस्थलमा समाधिस्थल निर्माण गर्न शान्ति मन्त्रालय मार्फत बजेट उपलब्ध गराउन पनि भूमिका निर्वाह गरेको बताए ।

दोरम्बा हत्याकाण्ड भएको स्थान डाडाँकटेरीको विकास गर्नको लागि शहीद स्मृति प्रतिष्ठान नै दर्ता गरेर काम अगाडि बढाइएको छ । तीन नम्बर प्रदेश सरकारले अर्धकदको शालिक निर्माण गर्नको लागि २० लाख बजेट उपलब्ध गराएको छ । रामेछाप प्रदेशसभाका सांसद समेत रहेका तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा शालिक निर्माण गर्न बजेट विनियोजन भएको हो ।

दोरम्बा शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष धनबहादुर तामाङ ‘अमिर’ले यस आर्थिक बर्षभित्र नै डाडाँकटेरीमा २१ जना शहीदको अर्धकदलको शालिक स्थापना गरिने रामेछाप न्युजलाई बताए । उनले भने,‘इतिहास निर्माण गर्ने शहीदहरुको सम्मानमा शालिक निर्माण गर्न लागिएको हो ।’

दोरम्बा गाउँपालिकाले पनि हत्याकाण्ड भएको स्थान डाँडाकटेरीको विकासको लागि काम अगाडि बढाएको छ । यस अघि डाडाँकटेरीमा शहीद स्मृति समाधिस्थल निर्माण भइसकेको छ । करिब दुई रोपनी जग्गामा निर्माण गरिएको समाधिस्थलको वाल लगाउने र गेट निर्माण गर्ने काम सम्पन्न भएको छ । गाउँपालिकाले समाधिस्थलमा ६ लाख लगानीमा ट्रष्ट (बस्ने ठाउँ) निर्माण गर्न लागेको छ । त्यसैरी गाउँपालिकाले डिपिअारकाे लागि २ लाख रूपैयाँ छुटयाएकाे छ ।
दोरम्बा हत्याकाण्ड भएको १५ बर्षपछि डाडाँकटेरीमा शहीदहरुका अर्धकदको शालिक निर्माण हुन लागेको हो । २४ इन्च अर्धकदको शालिक राखिने अध्यक्ष तामाङले बताए । उनको अनुसार आगामी साउन ३२ गते स्मृति दिवसको अवसरमा उदघाटन गर्ने कार्यक्रम छ । घटना घटेको १५ बर्षपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत साउन ३२ गते दोरम्बाको डाँडाकटेरी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्