डहु घटनाः कहाँ पुग्यो अनुसन्धान ?



चैत्र १४, रामेछाप ।
सुनापती गाउँपालिका–४ बेथानस्थित डहु माविमा कार्यरत शिक्षक मोहन महतको अज्ञात समुहको आक्रमणमा परी निधन भएको ११ दिन वितिसक्दा समेत घटनामा संलग्न दोषीलाई प्रहरीले पक्राउ पर्न सकेको छैन् । फागुन २१ गते राती विद्यालय परिसरभित्र गम्भीर घाइते भई वेहोस अवस्थामा फेला परेका शिक्षकलाई उपचार गर्न काठमाडौं ल्याइएको थियो । तर शिक्षक महतको चैत्र ३ गते केएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

महतको निधन भएपछि मात्र कल डिटेलको आधारमा केही स्थानीयलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । तर पक्राउ परेका ती व्यक्तिहरुलाई प्रहरीले तारेखमा छोडेको छ । प्रहरीले घटनाको अनुसन्धान गर्न स्थानीय व्यक्तिहरुलाई पक्राउ गरेर सोधपुछ गर्दै आएको छ । तर घटना घटेको २५ दिन वितिसक्दा समेत प्रहरीले घटनामा संलग्न दोषीलाई पक्राउ गर्न सकेको छैन् ।


मृतक शिक्षक महतका परिवारले तत्काल घटनामा संलग्न दोषीमाथि कारवाही हुनु पर्ने माग गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी सन्तोष भट्टराईले घटनाको अनुसन्धान भइरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘घटनाको गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौ, सोधपुछ गर्ने काम भइरहेको छ, केही समय लाग्न सक्छ तर दोषी उम्किन सक्दैन ।’ घटनाको जानकारी पाए लगत्तै प्रहरीले निगरानी गरेको बताउदै उनले आफूहरु दोषीलाई पक्राउ गर्न गम्भीरताको साथ अनुसन्धानमा जुटेको बताए ।
दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले माग गरेका छन् । स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउदै तत्काल घटनामा संलग्न अपराधीलाई पक्राउ गर्नुपर्ने माग गरे ।
सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष समेत रहेका डहु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग घिसिङले दोषीलाई पक्राउ गर्न लिखित निर्णय गरेर नै प्रहरीलाई आग्रह गरेको बताए । विद्यालय प्रशासनले पनि दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै आएको छ ।


त्यसैगरी शिक्षकको हत्या भएको विषयलाई लिएर रामेछाप शिक्षक महासंघले पनि दोषीलाई तत्काल कारवाही गर्न जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पीडित परिवारले भने दोषी पक्राउ गर्न ढिलाई गरेको भन्दै असन्तुष्टि जनाएका छ । प्रहरीले आधा दर्जन भन्दा बढी व्यक्तिहरुलाई पक्राउ गर्दै सोधपुछ गर्दै तारेखमा छोडेको छ । मृतक शिक्षक महतको परिवारलाई विद्यालयले साढे दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्