रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुलमा ढलानको तयारी



१५ चैत्र, रामेछाप ।
रामेछाप–सिन्धुली जोडने बहुचर्चित सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फलामको ट्रष्ट जडान गर्ने काम सकिएपछि ढलानको लागि फर्मा तयारी गर्ने काम अगाडि बढेको हो । दस बर्ष अघि सुरु भएको खैरनीघाटको पक्की पुल ठेकेदारको कारण ढिलाई भएको थियो । पुल सञ्चालनमा आएपछि रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाका बासिन्दालाई प्रत्यक्ष लाभान्वित हुनेछन् ।

खाडाँदेवी गाउँपालिका–१ राकाथुमका अध्यक्ष विष्णु श्रेष्ठले पुल निर्माणको काम सन्तोषजनक ढंगले अगाडि बढेको बताए । उनले भने,‘यस बर्ष पुल निर्माण भएर गाडी गुडछ भन्ने आशा पलाएको छ, निर्माण कम्पनीले पनि यसै बर्ष गाडी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’
ढलान गर्नको फर्मा राख्ने र पुलको वारीपारी नै ग्याबिङको काम धमाधम भइरहेको सुनापती गाउँपालिका–४ का स्थानीय सुदिप लामाले जानकारी दिए । उनका अनुसार पुल निर्माणले गति लिएको छ । करिब ९ करोड लगानीमा निर्माण भइरहेको पुल सञ्चालनमा आएपछि रामेछापवासीलाई राजधानी काठमाडौ आवतजावत गर्न सहज हुनेछ ।

स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरुले दबाब दिएपछि ठेकेदार कम्पनीले यस बर्ष पुल निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाएको थियो । पुल निर्माणको जिम्मेवारी पाएको खम्पाचे÷लामा÷कन्काई जेभीले पाएको थियो । कन्काई निर्माण सेवाका सञ्चालक राम मैनालीले यस बर्ष गाडि सञ्चालन हुने बताए । उनले रामेछाप न्युजसँग भने,‘मैले यस बर्ष पुल निर्माण गरेर गाडी सञ्चालन हुन्छ भन्दा धेरैले पत्याएका थिएनन, बन्यो त पुल ।’

खैरेनीघाट पुल निर्माण अन्तर्गत फलामको ट्रष्ट जडानको काम भने जलप नेपाल कम्पनीले गरेको हो । कम्पनीका सञ्चालक ताराप्रसाद पौडेलले कठिन मानिएको ट्रष्ट जडानको काम सकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्