रामेछापमा शव वहान ल्याउन रेडक्रसको सक्रियताः बजेट दिने मन्त्रीको प्रतिबद्धता



२० चैत्र, रामेछाप ।
रामेछाप जिल्लामा शव बहान नहुँदा समस्या बढदै गएपछि नेपाल रेडक्रस सोसाइटी रामेछापले शव वहान ल्याउन सक्रियता देखाएको छ । शव बहान नहुँदा शव बोक्न सार्वजनिक सवारी साधनले नमान्ने हुँदा पीडित परिवारले निकै ठूलो सास्ती खेप्दै आएका छन् । त्यसैगरी जिल्लाभित्र शव बोक्न शव वहान नहुँदा पीडित परिवार चर्को मुल्य तिरेर शव ल्याउन बाँध्य हुँदै आएका छन् ।
रामेछाप जिल्लामा अहिलेसम्म शव बहानको व्यवस्था हुन सकेको छैन् । नेपाल रेडक्रस सोसाइटी रामेछापले शव वहान ल्याउनको लागि तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलसँग लिखित आग्रह गरेको छ ।

प्रदेश सरकारले शव वहान खरिद गर्नको लागि बजेटको व्यवस्था गरे त्यसको व्यवस्थापन रेडक्रसले गर्ने नेपाल रेडक्रस सोसाइटी रामेछापका मन्त्री जय प्रकाश श्रेष्ठले रामेछाप न्युजलाई बतए । उनले भने,‘जिल्लामा शव बहान नहुँदा निकै ठूलो समस्या छ, समाधानको लागि हामीले पहल अगाडि बढाएका छौ, शव बहानको व्यवस्थापन गर्ने जिम्मेवारी रेडक्रसले लिन्छ ।’

जिल्लामा शव बहान नहुँदा जिल्लाभित्र शव ओसारपसार गर्न न्युनतम चालिस हजार र जिल्ला बाहिर लैजानको लागि डेढ लाखसम्म खर्च हुने गरेको मन्त्री श्रेष्ठले बताए । दुर्घटना र आत्महत्याको घटना जिल्लामा भइरहेका हुन्छन, आफन्त गुमाएका पीडित परिवारलाई शव लैजान निकै गाह्रो हुने गरेको छ, उनले भने ।
एउटा शव बहान खरिद गर्नको लागि १५ देखि २० लाख रुपैयाँ लाग्ने बताइएको छ । प्रदेश सरकारले भने शव बहान खरिदको लागि बजेट उपलब्ध गराउने आश्वासन दिएको छ । अर्थमन्त्री ढुंगेलले शव बहान खरिदको लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्