रामेछाप नगरपालिकाभित्र पहिलो पटक टोलटोलमा कानुन सिकाइदै
राजन महतारा क्षेत्री
२१ चैत्र, काठमाडौं । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले जिल्लामै पहिलो पटक टोलटोलमा न्यायिक अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । न्यायिक समितिले हेर्ने विवादहरु र समाधान गर्ने प्रक्रियाका बारेमा नागरिकहरुलाई जानकारी गराउने उद्धेश्यले टोल–टोलमा न्यायिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
रामेछाप नगरपालिकाको न्यायिक समितिका संयोजक एवम नगरपालिकाकी उप–प्रमुख सृजना खड्काले देशको नयाँ संरचना अनुसार निर्माण भएका नयाँ ऐन कानुन र नगरपालिकाले निर्माण गरेको स्थानिय ऐन, कानुनको बारेमा टोलटोलमा जानकारी दिएको बताइन । उनले रामेछाप नगरपालिकाको ९ वटै वडाका विभिन्न टोलटोलमा न्यायिक अभिमुखिकरण कार्यक्रम सन्चालन भइरहेकोे उप–प्रमुख खड्काले बताइन ।
नगरपालिकाको ऐन कानुन, न्यायिक समितिले गर्ने काम र प्रक्रियाका बारेमा नागरिकहरुलाई जानकारी नहुँदा न्यायिक समितिको काम प्रभावकारी हुन नसकेको महशुस गर्दै नगरपालिकाले यस्तो खालको कार्यक्रमको आयोजना गरेको न्यायिक समितिका सदस्य एवम वडा नम्बर ६ का वडाअध्यक्ष धन बहादुर खड्काले बताए ।
न्यायिक कार्यविधि, न्यायिक समितिका काम कर्तव्य र अधिकार, न्ययिक समितिमा निवदेन दर्ता गर्ने प्रक्रिया लगाएतका विषयमा नगरका वडा समिति, मेलमिलापकर्ता, स्थानीय संघ÷संस्था ,सरोकारवाला र वडाका नागरिकहरुलाई जानकारी गराएको न्यायिक समितिका सदस्य एवम रामेछाप नगरपालिका–५ का वडाअध्यक्ष भिम बहादुर तामाङले बताए ।
टोलटोलमा न्यायिक अभिमुखिकरण कार्यक्रममा सामुदायिक मेलमिलाप केन्द्र र सामुदायिक मेलमिलापकर्ताहरुको भूमिकाको बारेमा रामेछाप नगरपालिकाका मेलमिलाप संयोजक पृथ्वी नारायण श्रेष्ठले जानकारी गराएका छन् ।
टोलटोलमा न्यायिक अभिमुखिकरण कार्यक्रमको सहजिकरण रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालले गरेका छन् । रामेछाप नगरपालिकाको वडा नम्बर १ गोठगाउँ , वडा नम्बर २ देउराली र वडा नम्बर ३ साँघुटारमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी४, ५, ६, ७, ८ र ९ वडामा पनि यहि महिनाभित्रै अभिमुखिकरण कार्यक्रम गरिसक्ने उप–प्रमुख खड्काले बताइन ।
समाजमा हुने सानातिना विवादहरुलाई मेलमिलापका माध्यमबाट गाउँठाउँमै विवाद समाधान गर्नका लागि प्रत्येक स्थानीय तहमा न्यायिक समिति र प्रत्येक वडाहरुमा समुदायिक मेलमिलाप केन्द्रहरु गठन गरिएको छ ।