नेकपा रामेछापमा नेपाल पक्षको समानान्तर कमिटीको सचिवमा श्रेष्ठ



२२ चैत्र, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीमा विवाद चर्किदै जादा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले समान्तर कमिटी गठन गर्ने गरी नामावली तयार गरेको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको जिल्ला कमिटीका अध्यक्ष र सचिवको नामावलीप्रति असन्तुष्टि जनाउदै नेपाल पक्षले जिल्ला कमिटीको अध्यक्ष र सचिवको छुट्टै सूचि तयार गरेको हो ।

नेपाल पक्षले छुटै सर्कुलर जारी गर्ने गरी नामावली तयार गरेको छ । त्यसैगरी रामेछापमा नेकपाका जिल्ला सचिवमा नेपाल पक्षले पूर्व एमालेका सचिव आनन्द श्रेष्ठलाई बनाउने गरी नामावली तयार गरेको छ ।

म सर्वसम्मत सचिवमा सिफारिस भएको हुँः श्रेष्ठ
नेकपा रामेछापबाट जिल्ला कमिटीको सचिवमा प्रस्तावित आनन्द श्रेष्ठले भने आफू सर्वसम्मत सचिवमा सिफारिस भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘मलाई पार्टीले सर्वसम्मत रुपमा सिफारिस गरेर पठाएको हो, मलाई विवादमा पार्ने गरी नामावली सार्वजनिक हुनु दुःखद विषय हो ।’

नेकपा रामेछापमा भागवण्डा अनुसार पूर्व माओवादी केन्द्रले जिल्ला कमिटीको अध्यक्ष र सचिवमा पूर्व एमालेले पाएको छ । नेकपाबाट जिल्ला कमिटीको अध्यक्षमा डिल्लीमान तामाङ र सचिवमा आनन्द श्रेष्ठलाई सर्वसम्मत रुपमा निर्णय गरेर प्रदेश कमिटीमा सिफारिस गरिएको छ । तर नेपाल पक्षले आनन्द श्रेष्ठलाई समानान्तर कमिटीको सचिवमा राखेपछि नेकपा रामेछापमा नयाँ बहस सृजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्