विदेशी पर्यटकले मन्थलीका होटल भरिएपछि होटल व्यवसायी उत्साहित



स्नेहा सिलवाल
२२ चैत्र, काठमाडौं । मन्थलीबाट लुक्ला नियमित विमान सञ्चलनमा आएपछि रामेछापको सदरमुकाम मन्थलीका होटल खचाखच भरिएका छन् । मन्थली–लुक्ला आवत जावत गर्ने पर्यटकहरुको कारण होटल व्यवसाय पनि फस्टाएको छ । मन्थलीबाट लुक्लातर्फ जाने र आउने दैनिक तीन सय भन्दा बढी पर्यटकहरु मन्थलीमा बास बस्ने गरेका छन् । लुक्ला विमास्थलमा मौसम एकै क्षणमा परिवर्तन हुने गरेको कारण बिहानको समयमा बढी उडान हुने गरेको छ । बिहानै उडान हुने भएपछि काठमाडौंबाट एक रात बास बस्ने गरेर विदेशी पर्यटकहरु मन्थली जाने गरेका छन् ।
हाल मन्थलीमा एक दर्जन भन्दा बढी होटल व्यवस्थित रुपमा सञ्चालन हुँदै आएका छन् । अघिपछि प्रायः खाली हुने होटल पर्यटकहरुले भरिभराउ भएपछि होलट व्यवासयीहरु उत्साहित भएका छन् । मन्थलीमा पाँच सय पर्यटक अटाउने साना ठूलो होटल रहेका छन् ।
होलट पाउन घरका सञ्चालक बाला कार्कीले मन्थली विमानस्थल सञ्चालनमा आएसँगै व्यवसाय राम्रो हुँदै गएको बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘दुई महिनाको लागि पाइटलहरुले चार वटा कोठा लिनुभएको छ, होटल भरिभराउ नै छ ।’ उनका अनुसार होटलमा सात वटा कोठामा एसी रहेको छ । होटल पाउना घरमा एस डिलक्स कोठाको ३ हजार देखि१०० हजारका कोठा रहेको छ ।


सोलुका लागि आउने धेरैजसो पर्यटकहरु पनि मन्थलीमा बास बस्ने गरेका छन् । मन्थलीका ठूला होटलमा होटल पाउना घर, जिएस होटल, लालु लगायतका होटलमा विदेशी पर्यटक भरिएका छन् । जिएस होटेलका सञ्चालक सुदीप देवकोटाले होलट व्यवसाय राम्रो हुँदै गएको बताए । उनले होटलमा ५ सयदेखि ३ हजारसम्मका कोठा रहेको रामेछाप न्युजलाई बताए । देवकोटाका अनुसार होलमा २७ वटा कोठामा करिब ७० जना अटाउने गरेका छन् । होटलको १२ ओटा कोठामा भने एसी जडान गरिएको छ । मन्थलीमा अत्याधिक रुपमा गर्मी हुने गरेको कारणले एसी अनिवार्यजस्तै चाहिने गरेको छ ।
विमानस्थलमा सञ्चालन भएसँगै धमाधम होटल बुकिङ भएका छन् । काडमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको मर्मतको लागि तीन महिनासम्म दैनिक दस घण्टा विमानस्थल बन्द हुने भएपछि नागरिक उड्यान प्राधिकरणले मन्थली हुँदै लुक्लाको उडान सुरु गरेको छ ।
मन्थली विमानस्थलबाट लुक्ला क्षेत्रमा पर्यटक पुर्याउन चारवटा एयरलाइन्सले उडान भरिरहेको नेपाल नागरिक उड्यान प्राधिरकण मन्थली प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए । उनका अनुसार तारा, सीता, यती र समिट एयरलाइन्सले दैनिक २५ देखि ३५ उडान भर्दै आएका छन् ।
काठमाडौंबाट १ सय २६ किलोमिटर दुरीमा रहेको मन्थली आउन बिपी राजमार्गबाट गाडीमा चार घण्टा लाग्ने गरेको छ । मन्थलीबाट २२ मिनेटमै सोलुखुम्बुको लुक्ला पुग्न गरेको चौरसियाले जानकारी दिए ।
पर्यटकलाई बढी मुल्य नलिन होटल व्यवसायीलाई आग्रह
रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा बास बस्ने विदेशी पर्यटकहरुलाई बढी मुल्य नलिन आग्रह गरेको छ । संघले होटल व्यवसायीले हाल चल्दै आएको मुल्य मात्र लिन संघले आग्रह गरेको हो । संघले होटलमा खुवाइने परिकारको मुल्यसूचि, कोठाको मुल्य सूचि उपलब्ध गराउन पनि होटल व्यवसायीहरुलाई आग्रह गरेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन घिमिरेले रामेछाप न्युजलाई बताए ।

‘उचित मुल्य लिएर पर्यटकलाई सेवा दिदा राम्रो सन्देश जान्छ’, घिमिरेले रामेछाप न्युजसँग भने,‘होटल व्यवसायीहरुले बढी मुल्य लिएको गुनासो आएको छैन् ।’ उनले होटलमा बास बस्ने पर्यटकहरुलाई सकेसम्म विमानस्थलसम्म लैजाने व्यवस्था गर्दा निकै राम्रो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्