विद्यालयमा ल्याउ सिकाउ र टिकाउः अध्यक्ष तामाङ
२६ चैत्र, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाभित्र शिक्षा क्षेत्रमा सुधार ल्याउने गरी कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् । उनले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहुने गरी कार्यक्रम अगाडि बढाइएको बताएका हुन् । अध्यक्ष तामाङले भने,‘गाउँपालिकाले विद्यालयमा ल्याउ सिकाउ र टिकाउ भन्ने नारा बनाएको छ, सोही नारा अनुसार हामी अगाडि बढेका छौं ।’
खाँडादेवी गाउँपालिका–७ गुन्डुगोलस्थित थामी वस्तीमा नवनिर्मित दुई कोठे विद्यालय भवनको उदघाटन गर्दै अध्यक्ष तामाङले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट मार्फत नै शिक्षा क्षेत्रको सुधारको काम थालिएको बताए ।
माझी थामी समुदायका विद्यार्थीहरुलाई उच्च शिक्षासम्मको अध्ययन निशुल्क प्रदान गर्ने गाउँपालिकाले घोषणा गरेको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रको सुधार गरेर मात्र समाज रुपान्तरण गर्न सकिने बताए । उक्त विद्यालयमा थामी समुदायका करिब चालिस जना भन्दा बढी विद्यार्थीहरु पठनपाठन गर्दै आएका छन् ।