सैलुङ पर्यटन महोत्सवको तयारी तीब्र (भिडियो सहित)



२९ चैत्र, रामेछाप ।
आगामी वैशाक १३, १४ र १५ गते हुने सैलुङ महोत्सवको तयारी तीब्र गतिमा अगाडि बढेको छ । रामेछापको दोरम्बा गाउँपालिका, दोलखाको मेलुङ र सैलुङ गाउँपालिकाद्धारा संयुक्त रुपमा आयोजित सैलुङ महोत्सवको तयारी तीब्रताको साथ अगाडि बढेको हो ।
सैलुङ सांस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सव मूल समारोह समितिले प्रचार प्रसारसँगै व्यवस्थापिक कामलाई अगाडि बढाएको दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले रामेछाप न्युजलाई बताए । उनले भने,‘महोत्सवलाई सफल बनाउनको सबै पक्ष एकाकार भएर लागेका छौं ।’


उपत्यकाबाट पूर्वतर्फ करिब १४० किलोमिटरको दूरीमा रहेको सैलुङडाँडा हिमाली जिल्ला दोलखा र रामेछापको सङ्गमस्थल हो । सामुद्रिक सतहबाट ३२ सय मिटरको उचाइमा रहेको सैलुङडाँडा करिब सयवटा स–साना थुम्काहरूबाट बनेको छ । धानको थुप्रोजस्तो देखिने यी थुम्काहरू पहाडी घाँसेमैदान रुपमा रहेको छ । यस क्षेत्रमा रहेको सैलुङ गुम्बा, सैलुङ महादेवको मन्दिर, धर्म गुफा, गाईको खुर एवम् थुनजस्ता देखिने आकृति यस क्षेत्रका धार्मिक महत्वका विषय हुन् ।
सैलुङ डाँडाबाट अन्नपूर्ण, मनासलु, गणेश, लाङटाङ, गौरीशङ्कर, नुम्बुर जस्ता सुन्दर हिमालका दृश्य एवम् प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिने सैलुङ पर्यटन महोत्सव मुल समारोह समिति अन्र्तगतको व्यवस्थापकीय संयोजकका सचिव नारायण श्रेष्ठले बताए ।
सैलुङ डाँडाको मुख्य विशेषता यहाँबाट चारै दिशामा करिब ३६० डिग्रीको कोणमा मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।


जैविक विविधताले भरिपूर्ण यो क्षेत्र हिमाली जङ्गल र घाँसेमैदानले ढाकिएको र लालीगुराँस, ओखर, सल्लाको जङ्गल रहेको यस क्षेत्रमा करिब १५० प्रकारका जडीबुटीहरू पाइन्छन् । गुराँसका फूलहरूले जङ्गल मनोरम बनाइराख्दा वा रूखका हाँगामा फुलिरहेका सुनाखरी फूलका दृश्य निकै चित्ताकर्षक हुन्छन् ।
धार्मिक दृष्टिकोणले पनि यो क्षेत्र हिन्दु एवम् बुद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल हो । बौद्ध धर्मावलम्बीका लागि सैलुङडाँडामा बौद्ध चैत्य र हिन्दुका लागि सैलुङ महादेवस्थान रहेकाले यी दुवै धर्मका अनुयायीका लागि यो स्थान पवित्र मानिन्छ ।
यहाँ हरेक वर्ष बौद्ध पूर्णिमाको दिन लाग्ने जात्रा एवम् गुफा बस्ने प्रचलन परापूर्वकालदेखि चालिआएको छ । विशेषगरी बुद्धपूर्णिमा, बालाचर्तुदशी, तीज, नयाँ वर्षलगायतका मुख्य चाडपर्वमा यहाँ मानिसको घुइँचो लाग्ने गरेको छ ।

हेनुहाेस भिडियाे

प्रतिक्रिया दिनुहोस्