११ दिनमा मन्थलीमा ३ हजार विदेशी पर्यटक भित्रिए



३० चैत्र, काठमाडौं ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा एघार दिनमा तीन हजार विदेशी पर्यटक भित्रिएका छन् । मन्थली विमानस्थलबाट लुक्ला उडान सुरु भएपछि मन्थलीमा विदेशी पर्यटकको संख्या ह्वातै बढेको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक दस घण्टा बन्द भएपछि लुक्ला जाने पर्यटकहरुको लागि मन्थलीबाट उडान हुँदै आएको छ । एघार दिनको अवधिमा तीन हजार पर्यटक मन्थली विमानस्थलबाट आवत जावत गरेको नेपाल नागरिक उड्यान प्राधिकरण रामेछापका प्रमुख अमित चौरसियाले रामेछाप न्युजलाई बताए ।


उनका अनुसार एघार दिनको अवधिमा ३८ सय यात्रुहरुले मन्थली हुँदै आवतजावत गरेका छन् । प्रमुख चौरसियाले भने,तीन हजार विदेशी यात्रु र आठ सय आन्तरिक यात्रुले आवत जावत गरेका छन् ।’ मन्थली विमानस्थलबाट लुक्ला दैनिक ४५ फ्लाइटसम्म हुँदै आएको छ । मन्थलीबाट लुक्ला दैनिक उडान सुरु भएपछि मन्थलीमा चहलपहल बढेको छ । होटलहरु खचाखच भरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्