मन्थली एरपोर्टमा विदेशी पर्यटकको भिडभाड (फोटोफिचर)



२ वैशाक, रामेछाप ।
रामेछापको मन्थली विमानस्थलमा विदेशी पर्यटकहरुको भिडभाड बढेको छ । मन्थलीबाट लुक्ला नियमित उडान सुरु भएपछि पर्यटकहरुको संख्या दिनप्रतिदिन बढदै गएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक दस घण्टा बन्द हुने भएपछि नेपाल नागरिक उड्यान प्राधिकरणले सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुको लागि मन्थली–लुक्ला उडान सुरु गरेको थियो । झण्डै दुई साताको अवधिमा मात्र मन्थलीमा चार हजार भन्दा बढी पर्यटक भित्रिएका छन् ।

मन्थलीबाट चार वटा विमान कम्पनीले उडान गर्दै आएका छन् । लुक्लाको मौसम राम्रो हुँदा दैनिक ४५ वटा फ्लाइट भएको नेपाल नागरिक उड्यान प्राधिकरण रामेछापका प्रमुख अमित चौरसियाले रामेछाप न्युजलाई बताए ।

उनका अनुसार आज विमानस्थलमा लुक्ला जाने पर्यटकहरुको संख्या निकै बढेको छ । हिजो नयाँ बर्ष भएको कारण थोरै मात्र उडान भएको उल्लेख गर्दै चौरसियाले आज बिहानबाटै मौसम सफा भएकाले धमाधम उडान भइरहेको जानकारी दिए ।

नेपाल आयल निगम हवाइ इन्धन डिपो मन्थलीका सूचना अधिकारी ऋषिकेश भुर्तेलले मन्थलीबाट लुक्ला नियमित उडान सुरु भएदेखि इन्धनको अभाव हुन नदिएको बताए । उनले भने‘विमान कम्पनीहरुले मागे अनुसार इन्धन उपलब्ध गराएका छौ ।’

प्रतिक्रिया दिनुहोस्