मन्थलीमा लुट ! ११ रुपैयाँको पानीलाई ३० रुपैयाँमा बिक्री



१० वैशाक, रामेछाप ।
मन्थली बजारमा तोकिए भन्दा दोब्बर मुल्य लिएर पानी बेच्ने निर्णय भएको छ । रामेछाप होटल व्यवसायी संघले ११ रुपैयाँ पर्ने एक बोतल पानीलाई ३० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो । होटल व्यवसायी सघंले उपभोक्ताको ढाड सेक्ने गरी मुल्य निर्धारण गरेको भन्दै आपत्ति जनाएका छन् । होटल व्यवसायी संघले एकतर्फी रुपमा मुल्य सूचि निर्धारण गरेकोप्रति कतिपय होटल व्यवसायीहरुले नै असन्तुष्टि जनाएका छन् ।
मन्थलीबाट लुक्ला नियमित उडान सुरु भएपछि फरक–फरक मुल्य सूचि कायम भएको भन्दै आवाज उठेपछि संघको बैठकले मुल्य सूचि निर्धारण गरेको थियो । तर निर्धारण गरिएको सूचिले उपभोक्ता मारमा परेका छन् । सर्वसाधारणहरुले होटल व्यवसायी संघले निर्धारण गरेको दररेट सच्याउनु पर्ने बताएका छन् ।


उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कडेलले तोकिएको मुल्य भन्दा दोब्बर मुल्य लिएर वितरण गर्नु गलत भएको बताउछन् । उनले रामेछाप न्युजसँग भने,‘व्यापार व्यवसायमा धेरै नाफा कमाउने सोच राख्नु भन्दा पनि मुल्यको केही प्रतिशत मात्र नाफा लिनु राम्रो हो, तर व्यवसायमा विस्तारै धर्म हराउदै जान थालेको छ ।’ उनका अनुसार पानीसँगै अन्य वस्तुमा पनि बढी मुल्य लिएको गुनासो आएको छ ।
उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष श्याम थापाले बढी मुल्य लिनु गलत भएको बताउछन । जिल्ला प्रशासन कार्यालय रामेछाप र होटल व्यवसायी संघ र उद्योग वाणिज्य संघबीच भएको छलफलमा होटल व्यवसायीले मुल्य समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर मुल्य सूचि सच्याइएको जानकारी भने गराइएको छैन् । यस अघि होटल व्यवसायी संघले मुल्य सूचि निर्धारण गरेर होटल होटलमा पठाएको थियो ।

सामान्यतया एक बोलत पानीको वीस रुपैया तिर्न उपभोक्ता हिचकिचाउदैनन् । तर एक बोलत पानीकै तीस रुपैयाँ मुल्य राखेपछि भने मन्थलीमा बहस सुरु भएको छ–‘मन्थलीमा पनि लुटन सके टुल भन्ने भनाईले सार्थकता पाउन थालेको हो ?’
तीस रुपैयाँ मुल्य राखिएको स्थानीय पानी सदरमुकाम मन्थलीको आकाशेबाटै उत्पादन हुन्छन् । केही बर्षअघिदेखि राजधानी काठमाडौं र दोलखा लगायतको स्थानबाट पानी ल्याउनु पर्ने बाँध्यता हटाउदै रामेछापकै रामबाबु गिरीले पानी उद्योग सञ्चालनमा ल्याएका थिए ।

शैलुङ्ग स्प्रिङ वाटर उद्योग कम्पनी नै दर्ता गरेर आकाशेमा पानी उद्योग सञ्चालन भएपछि बजार क्षेत्रमा सोही पानी जाने गरेको छ । पानी उद्योगले एक बोलत मिनलरवाटको मुल्य १० रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । उद्योगले नै ११ रुपैयाँमा होटल र पसलहरुमा पुर्याउने गरेको छ । तर त्यहीँ पानीको मुल्य भने होटल व्यवसायी संघले ३० रुपैयाँ निर्धारण गरिएको छ ।

१५ देखि २० रुपैयाँसम्ममा उपभोक्ताले खरिद गर्दै आएको पानीको मुल्य ह्वातै बढेपछि उक्त निर्णय सच्याउन बजारवासीले दबाब दिएका छन् । मन्थलीमा उक्त उद्योग दैनिक पाँच हजार बोतल पानी उत्पादन गरेर विक्री वितरण गर्दै आएको छ । उद्योगका सञ्चालक गिरीले रामेछाप न्युजसँग भने,‘११ रुपैयाँमा होटल र पसलसम्म नै पानी पुर्याउछौ, व्यवसायीले केही नाफा राखेर बेच्दा राम्रो हुने हो, तर धेरै मुल्य राख्नु उचित होइन ।’
होटल व्यवसायी संघले कोकाकोला, पेप्सी लगायतको कम्पनीबाट उत्पादन हुँदै आएको एक बोतल मिलरवाटरको भने पचास रुपैयाँ मुल्य निर्धारण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्