शैलुङ क्षेत्रको गुरु योजना बनाएर नै विकास गछौः अध्यक्ष मोक्तान



शैलुङ्ग क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित यही वैशाक १३, १४ र १५ गते प्रथम शैलुङ्ग महोत्सव हुँदैछ । ऐतिहासिक, धार्मिक, प्राकृतिक र पर्यकीयस्थल शैलुङ्गमा हुने महोत्सवको तयारीमा दोरम्बा गाउँपालिकाका जनप्रतिनिधि अहोरात्र खटिएका छन् । दोलखाको मेलुङ्ग र शैलुङ्ग गाउँपालिका पनि आयोजक रहेपनि मुख्य आयोजक भने दोरम्बा गाउँपालिका हो ।
पौराणीक मान्यता अनुसार शैलुङ्गमा बुद्ध गुरु रेम्बोचोले एउटा खुट्टामा उभिएर तपस्था गरेको पवित्र भूमिको रुपमा चिनिदै आएको छ । प्राकृतिक स्रोत र साधनमा धनी भएर पनि शैलुङ्गको विकासको गतिमा अगाडि बढन सकेको छैन् । शैलुङ्ग क्षेत्रको विकास गरेर दोरम्बा गाउँपालिकालाई समृद्ध बनाउने योजना सहित दोरम्बा गाउँपालिकाको पहलमा महोत्सव हुन लागेको हो । यसै बिषयमा शैलुङ्ग महोत्सवको तयारी र अपेक्षा लगायतको विषयमा केन्द्रीत रहेर रामेछाप न्युजले गरेको कुराकानीः–


पर्यटन प्रर्बद्धन गर्ने उदेश्य सहित हुन लागेको शैलुङ्ग महोत्सवको तयारी कुन रुपमा अगाडि बढेको छ ?
–पवित्रभूमि शैलुङ्ग महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण शैलुङ नेपालको उच्च पहाडी भू–भाग मध्ये सवैभन्दा अग्लो स्थान पर्छ । एक सय आठ थुम्की मिलेर बनेको शैलुङ्गको विशेषता भनेकै प्राकृतिक दृष्यावलोकन हो । शैलुङमा लुकेर बसेका थुपै्र ऐतिहासिक, प्राकृतिक सम्पत्ती र सौन्दर्यको प्रचार गर्नका लागि यो महोत्सव गर्न लागिएको हो ।
शैलुङ्गको विशेषता के हो ?
–शैलुङ जैविक विविधताले परिपूर्ण छ । पाँचौं बुद्ध गुरु रेम्बोचोले एउटा खुट्टा टेकेर तपस्या गरेको भूमिको रुपमा शैलुङ्गलाई चिनिने गरिएको छ । जुन एउटा खुट्टाको पाइला अहिले पनि देख्न सकिन्छ । यसले इतिहास र धार्मिक संस्कारको बिम्ब बोकेको छ । अहिले प्रचार प्रसारको अभावमा हामीले यो कुरा बाहिर लैजान सकेका छैनौं । यो महोत्सवले विश्वभरका बौद्ध धर्मलम्बीहरुका पनि राम्रो सन्देश दिन सकिन्छ । शैलुङ्ग हिन्दुधर्मालम्बीहरुको पनि आस्थाको केन्द्र हो । शैलुङ्गमा परापुर्वकालदेखि नै ढुंगाबाट कुदिएको डाँफे र बाघको चित्र अहिले पनि छ ।
शैलुङ शब्द तामाङ भाषाबाट आएको हो । तामाङ भाषामा शैलुङ भनेको सय वटा डाँडा भन्ने अर्थ लाग्छ । तामाङ भाषामा शालुङ भन्ने शब्द छ । त्यही शब्दबाट शैलुङ बन्यो र शैलुङको अर्थ माटैमाटोबाट बनेको एक सय आठ थुम्की भन्ने हुन्छ ।


शैलुङ्गको विकासको लागि के योजना बनाउनुभएको छ ?

–शैलुङ्ग क्षेत्रको गुरु योजना बनाएर नै काम गर्ने योजना अगाडि सारेका छौं । तीन नम्बर प्रदेशका अर्थमन्त्री कैलाश प्रसाद ढुंगेलले पनि शैलुङ्गको विकासमा बजेट विनियोजन गरेर सहयोग गर्नुभएको छ । शैलुङ्ग क्षेत्रमा उत्पादन हुने आलु मात्र समयमा नै बजारसम्म पुर्याउने हो भने करोडौ आम्दानी गर्न सकिन्छ । चौरी पालनबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । यस क्षेत्रमा १२५ थरीमा बहुूल्य जडिबुटीहरु पाइन्छ । जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने विषयमा पनि योजना अगाडि सारेका छौं ।
महोत्सवको लागि कति खर्च लाग्ने अनुमान गर्नुभएको छ ?

–गाउँपालिकाले पहिलो पटक गर्न लागेको महोत्सव हो । दोलखाको दुई गाउँपालिकाको पनि आयोजकको रुपमा रहेका छन् । तर मुख्य आयोजक भने दोरम्बा गाउँपालिका हो । करिब ८० लाख जति खर्च हुने अनुमान गरेका छौं । हाम्रो गाउँपालिकाले २० लाख खर्च गर्ने गरी व्यवस्था गरेका छौं भने दोलखाको सैलुङ्ग र मेलुङ गाउँपालिको पाँच÷पाँच लाख खर्च बेर्होने छन् । बाँकी खर्च अन्य क्षेत्रबाट जुटाउने काम भैरहेको छ ।
शैलुङ्ग महोत्सवमा कति मानिसहरु सहभागी हुने अपेक्षा गरिएको छ ?

–भौगोलिक रुपमा सुन्दर र रमणिय छ । अहिले लालीगुराँस फुलेर डाँडाकाडाँ ढकमल भएको छ । केही समयदेखि शैलुङ आउनेहरुको संख्या बढेको छ । नयाँ वर्षकै दिन पनि करिब पाँच हजारको संख्यामा पर्यटकहरु आएको आकडा छ भने महोत्सवमा हामीले करिब १० देखि १५ हजार पाहुनाहरु आउने अपेक्षा गरेका छौं । पर्यटन गन्तव्य गाउँ दोरबालाई घोषणा गरेसँगै शैलुङ्ग आउने पर्यटकहरुको संख्यामा पनि बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्