सित्खाबाट शैलुङ्गसम्म केबलकार सञ्चालन गछौंः मन्त्री ढुंगेल



शैलुङ महोत्सवले शैलुङमा नयाँ उत्साह थपेको छ । वैशाक १३ देखि १५ गतेसम्म तीन दिन सञ्चालन हुने प्रथम शैलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । शैलुङको पर्यटन विकासको लागि प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले नेतृत्व गर्दै शैलुङको विकासको लागि एक करोड बजेट विनियोजन गरेका छन् । शैलुङ महोत्सवको बारेमा केन्द्रीत रहेर मन्त्री कैलाश ढुंगेलसँग शैलुङको विकासको योजना, पर्यटन भित्र्याउने कार्यक्रम लगायतको विषयमा केन्द्रीत रहेर रामेछाप न्युजले गरेको कुराकानीः–


शैलुङसँग रामेछापको पहिचान
शैलुङ्ग हाम्रो सम्पदा हो । नेपालका धेरै महत्वपूर्ण उच्चस्थलको रुपमा शैलुङ्ग रहेको छ । शैलुङ्ग धार्मिक आस्थाको धरोहर हो । अमुल्य सम्पत्ती हो । रामेछाप र दोलखाको संगमस्थलमा रहेको शैलुङ्ग रमणीयस्थलको रुपमा परिचित छ । शैलुङ्गसँगै रामेछापको पहिचान पनि जोडिएको छ । जसरी रामेछाप तीन लालको जिल्लाको रुपमा चिनिदै आएको छ । त्यसैगरी रामेछाप शैलुङ्गको पनि पहिचान बनेको छ । देशकै प्रमुख पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने राम्रो गन्तव्य हो । विगतमा शैलुङ्गको विकास गर्न सकिएन ।
शैलुङको विकास गर्ने खाका कोर्दैछौ
हामीले अहिले समग्र शैलुङ्गलाई विकास गर्ने खाका बनाइरहेका छौं । विशेषगरी प्रदेश सरकारले शैलुङ्ग विकास कार्यक्रम भनेर पर्यटनसँग जोडिएका धेरै कार्यक्रम ल्याएको छ । शैलुङ्ग राजधानी काठमाडौंबाट पनि नजिक पर्छ । शैलुङ्गबाट मौसम खुलेको बेला काठमाडौं नै निकाल्न सकिने महत्वपूर्ण स्थल हो । आन्तरिक एवं बाह्य पर्यटकलाई शैलुङ्गसम्म सहज रुपमा पु¥याउन राकाथुम गाल्वा हुँदै शैलुङ्ग पुग्ने सडक निर्माण गर्दैछौं ।

सित्खा खाँडादेवी अग्लेश्वर दोरम्बा हुँदै शैलुङमा बेलकार
प्रदेश सरकारले सुनकोसीस्थित सित्खा खाँडादेवी मन्दिर हुँदै अग्लेश्वरबाट दोरम्बा हुँदै शैलुङ्गसम्म केबलकार लैजाने काम अगाडि बढाएका छ । जहाँबाट आन्तरिक एवं बाह्य पर्यटकले सहज रुपमा शैलुङ्ग पुग्न सक्छन् । सित्खाबाट खोलाखर्कसम्म केबलकार पु¥याउन सम्भाव्यताको अध्ययनको काम अगाडि बढेको छ । सर्भे र डिजाइनको काम गर्दैछौं । जनताको सहभागीतमा, निजी क्षेत्रलाई सहभागी गराउनुको साथै सहकारीलाई पनि सहभागी गरेर काम अगाडि बढाउने नीति लिएका छौं । मेरो कार्यकालमा शैलुङ्गसम्म पिच सडक र केबलकार दुवै पुग्छ ।
तीन गाउँपालिका जुटनु पर्छ
शैलुङ्गको विकास गर्न सकेको खण्डमा त्यस क्षेत्रको आर्थिक जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । दोरम्बा, शैलुङ्ग र मेलुङ गाउँपालिकाले पनि शैलुङ्गको विकासका लागि लाग्नु पर्छ । प्रदेश सरकारले एक करोड बजेट यस आर्थिक बर्षमा विनियोजन गरेको छ । शैलुङ्ग हिन्दु र बौद्ध धर्मालम्बीहरुको संगमस्थल पनि हो । शैलुङ्ग विदेशी पर्यटकको पनि आकर्षणको केन्द्र हो ।


गुरु योजना बनाएरै काम गछौं

शैलुङ्गको विकास गर्न हामीले नीति तथा कार्यक्रम नै बनाएका छौं । प्रथम शैलुङ्ग महोत्सव मार्फत राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रि क्षेत्रमा पनि थप प्रचारप्रसार गर्ने उदेश्य लिएका छौं । शैलुङ्गको गुरु योजना बनाएरै काम गछौं । शैलुङ्गका वातावरणलाई बचाउने,प्राकृतिक सौन्दर्यतालाई कही कतै खलबल नपु¥याउने गरी गुरु योजना बनाउनेछौं । हिमालयपछिको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा शैलुङ्गको विकास गर्न सक्छौ । हामी स्थानीय स्रोत पनि लगाउछौं । आन्तरिक स्रोतबाट पनि शैलुङ्गलाई मुस्कान दिने काम गछौं ।

शैलुङलाई शीरमा राखेर अगाडि बढनु पर्छ
स्थानीय सरकारले शैलुङ्गलाई शीरमा राखेर अगाडि बढनु पर्छ । शैलुङ्गको सम्पदालाई केन्द्र भागमा राखेर कार्यक्रम सहित अगाडि बढनु पर्छ । प्रदेश सरकारले त्यो अभियानमा साथ र सहयोग गर्छ । शैलुङ्ग क्षेत्रमा राम्रो आलु खेती हुन्छ । चौरीपालन मार्फत आम्दानी गर्न सकिने र पर्यटन पनि आकर्षण गर्न सकिने भएकाले प्रदेश सरकारले चौरी विशेष कार्यक्रम राखेको छ । शैलुङ्ग यस्तो गन्तव्य हो जहाँ चौरीसँगै वन्यजन्तु रमाउछन । आन्तरिक एवं बाह्य पर्यटक झन रमाउछन । शैलुङ्गमा पुग्दा जो कोही पनि आन्नदित हुने गरेका छन् । देशको प्रमुख पर्यटकीयस्थल मध्ये शैलुङ्गलाई पनि पाछौं । शैलुङ्ग खानेपानीको मुख्य स्रोत पनि हो ।

प्रतिक्रिया दिनुहोस्