पुननिर्माण प्राविधिकलाई काममा फर्कन निर्देशन, नफर्किए कारवाही



१३ वैशाक, काठमाडौं ।
भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा कार्यरत प्राविधिकले सामूहिक राजीनामा दिएको घटनाप्रति राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले तत्काल राजिनामा फिर्ता लिएर काममा नफर्किए कारवाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा प्राविधिकले उठाएका अतिरिक्त सेवा विधालगायतका माग गत भदौदेखि लागू हुने गरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इञ्जिनीयर्स एशोसियनका पदाधिकारीलाई जानकारी गराइसकेको उल्लेख छ ।
‘सामूहिक राजीनामा दिएको घोषणाबाट पुननिर्माण र भूकम्पपीडित जनताको संवेदनशीलताप्रति प्राविधिकको नियतमाथि प्रश्न उठाएको छ’, विज्ञप्तिमा भनिएको छ । प्राधिकरणले तत्काल पुनःनिर्माणको कार्यमा जुट्न सबै प्राविधिकलाई निर्देशन पनि दिएको छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेद्वारा जारी विज्ञप्तिमा पुनःनिर्माणको अभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइए कडा कदम चाल्न प्राधिकरण बाध्यँ हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्