लिखु तामाकोसी गाउँपालिकामा लेखापाल नहुँदा भद्रगोल



१७ वैशाक, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकामा लेखापाल नहुँदा समस्या सृजना भएको छ । डेढ महिना अघि लेखापाल सुरुवा भएर गएपछि अहिलेसम्म नयाँ लेखापाल आएका छैनन् । जसको कारण गाउँपालिकाबाट हुने आर्थिक कारोबार ठप्प भएको छ । लिखु तामाकोसी गाउँपालिकामा छ÷छ महिनामा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल सरुवा हुने क्रम बढेपछि त्यसको प्रत्यक्ष मार उपभोक्ता समितिलाई परेको छ ।

यस आर्थिक बर्षमा गाउँपालिकाले विकास बजेट तर्फ करिब १८ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर आर्थिक बर्षको अन्तिम हुँदा गाउँपालिकाले ३ करोड रुपैयाँ मात्र भुक्तानी दिएको छ ।
गाउँपालिकाभित्र यस आर्थिक बर्षको विकास निर्माणको काम करिब अन्तम चरणमा पुगेको छ । विकास निर्माणको काम गर्नको लागि गठित उपभोक्ता समितिले भुक्तानीको लागि बारम्बार आग्रह गर्दा पनि लेखापाल नहुँदा भुक्तानी हुन सकेको छैन् ।

गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काको कार्यशैलीको कारण कर्मचारी धेरै टिक्क नसक्ने गरेको आरोप लाग्दै आएको छ । तर अध्यक्ष खड्काले भने कर्मचारीहरुलाई आफूले राम्रो व्यवहार गर्ने गरेको दावी गर्दै आएका छन् ।
‘गाउँपालिकामा लेखापाल नहुँदा उपभोक्ता समितिको भुक्तानी रोकिएको छ’, अध्यक्ष खड्काले रामेछाप न्युजसँग भने,‘लेखापाल खाली भएको डेढ महिना भन्दा बढी भइसक्यो, तत्काल लेखापाल पठाइदिन महालेखा नियन्त्रणको कार्यालाई पत्राचार गरेका छौं ।’
कर्मचारी समायोजनको कामले छोटो समयमा नै कर्मचारी सरुवा हुँदा त्यसको असर गाउँपालिाई परेको उनले बताए । उनका अनुसार गाउँपालिको विकास बजेट अन्तर्गत हालसम्म ७५ प्रतिशत बजेट खर्च भइसकेको छ ।
७ वटा वडा रहेको लिखु तामाकोसी गाउँपालिमा अहिले २ जना मात्र वडा सचिव रहेका छन् । जसको कारणले पनि जनप्रतिनिधिहरुलाई काम गर्न गाह्रो हुँदै आएको ।
लिखु तामाकोसी गाउँपालिका–२ सैपुका वडा अध्यक्ष पदम बहादुर तामाङले गाउँपालिकामा लेखापाल नहुँदा उपभोक्ता समितिले पाउनु पर्ने भुक्तानी रोकिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘विकास निर्माणको काम धमाधम भइरहेको छ, समयमा नै भुक्तानी दिन नसक्दा उपभोक्ता समिति हामीसँग रुष्ट छन् ।’

गाउँपालिकामा लेखापाल नहुनुको साथै वडा सचिव नहुँदा पनि काम गर्न कठिनाई भएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत पनि केही दिन मात्र गाउँपालिकामा हाजिर भएर पुनः व्यक्तिगत समस्या देखाउदै केही दिनको लागि विदामा गएको गाउँपालिकाले बताएको छ ।

गत मंसिरमा लेखापाल दुर्गा बहादुर तामाङ सुरुवा भएपछि लगत्तै नयाँ लेखापाल आएपनि केही समय बसेर उनी पनि सरुवा भएका थिए । लेखापाल तामाङ सरुवा भएको छ महिना भइसक्दा पनि गाउँपालिकाको वेभसाइटमा भने लेखापालको रुपमा तामाङको फोटो हटाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्