जोखिममा मन्थली विमानस्थलः चिल उडदा चिन्ता



१९ वैशाक, रामेछाप ।
मन्थली विमानस्थलको धावन मार्गसँगै फोहोरको डंगुर फैलिदा विमान अवतरण र उडानमा जोखिम बढेको छ । स्थानीयले फोहोर धावन मार्ग नजिकै फ्याक्ने गरेका छन् । जसको कारण काग र चिल आउदा विमानमा ठोकिन सक्ने जोखिम बढेका भन्दै नेपाल नागरिक उड्यान प्राधिकरणले चिन्ता व्यक्त गरेको छ ।

फोहोरको कारण विमानस्थल आसपासमा चिल काग लगायतको चराचुरुङगी आउने संख्या बढेपछि नेपाल नागरिक उड्यान प्राधिकरणले मन्थली नगरपालिलाई फोहोर व्यवस्थापन गरिदिन आग्रह गरेको छ । उड्यान प्राधिकरणको आग्रहमा जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको बैठकले तत्काल फोहोर व्यवस्थापन गर्ने निर्णय गरेपनि कार्यान्वयमा आउन सकेको छैन् । फोहोरको संख्या बढेपछि विमान कम्पनीका कर्मचारी र उडयान प्राधिकरणको पहलमा रातीको समयमा फोहोरमा आगो लगाउर जलाउने काम भएपनि स्थानीयले फोहोर फ्याक्न छोडेका छैनन् ।


नेपाल नागरिक उड्यान प्राधिकरण रामेछापका अमित चौरसियाले फोहोर व्यवस्थापन हुन नसक्दा विमान अवतरण र उडानमा खतरा रहेको रामेछाप न्युजलाई बताए । ‘हामीले व्यवस्थापन गरिदिन पहल गरेका छौ, नगरपालिकाले व्यवस्थापन गर्ने प्रतिबद्धता पनि गरेको छ, तर स्थानीयले रातीको समयमा फोहोर फ्याक्न छोडेका छैनन’, उनले भने ।

स्थानीयले तामाकोसीको पुल आसपासमा फोहोर फ्याने गरेका छन् । गर्मीको समय भएको कारण फोहोर दुर्गन्ध फैलिनुको साथै विमान सञ्चालन गर्न नै चुनौती बनेको छ । विमानस्थल फोहोर, पार्किङ र तारबारमा पर्याप्त ध्यान दिन सकेको छैन् । हाल मन्थलीबाट लुक्ला करिब २० देखि ३५ फ्लाइटसम्म हुँदै आएको छ ।

फोहोर व्यवस्थापन हुन्छः नगरप्रमुख वस्नेत
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले धावनमार्ग नजिक देखिएको फोहोर व्यवस्थापन हुने बताएका छन् । उनले भने,‘नगरपालिकाले फोहोर व्यवस्थापनको लागि घरघरबाट फोहोर संकलन गर्ने गरेको छ, स्थानीय सहजताको लागि धावनमार्ग नजिकै फोहोर फ्याक्दा समस्या भएको छ, समाधानको लागि काम अगाडि बढिसक्यो ।’ धावनमार्ग नजिकै रहेको बंगुर पालन व्यवसायलाई पनि स्ताणन्तरण गर्नको लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए । उनले भने,‘फोहोरले विमान सञ्चालनसँगै स्वयंम नागरिकहरुलाई असर गर्छ, नगरपालिकाले गर्ने काम गर्छ, कम्तिमा नागरिकहरुले पनि आफ्नो दायित्व निर्वाह गर्नु पर्यो नि ?’

उडान र अवतरण सुरक्षित बनाउन फोहोर व्यवस्थापन गर्नुपर्छः प्रजिअ केसी

रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले विमान सञ्चालनमा नै जोखिम निम्त्याएको धावनमार्ग नजिककै फाहोर व्यवस्थापन गर्नुको अर्को विकल्प नरहेको बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘मन्थली नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ, हामीले पनि फोहोर व्यवस्थापन गर्ने कार्यमा समन्वय गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्