मन्त्री ढुगेलले पूरा गरे बाचाः मन्थलीमा ७ करोडको शीत भण्डार बनाउने सहमति



१९ वैशाक, हेटौडा ।
रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा जिल्लाकै पहिलो शित भण्डार निर्माण गर्ने सहमति भएको छ । मन्थली नगरपालिका र तीन नम्बर प्रदेशको भूभि व्यवस्था कृषि सहकारी मन्त्रालय र मन्थली नगरपालिकाबीच शीत भण्डार बनाउने सहमति पत्रमा हस्ताक्षर भएका ेहो । प्रदेश सरकारले प्रत्येक जिल्लामा एक÷एक वटा शीत भण्डार गर्ने नीति तथा कार्यक्रममा नै समावेश गरिएको थियो । सोही कार्यक्रम अन्तर्गत मन्थलीमा शीत भण्डार निर्माणको काम अगाडि बढेको हो ।

निर्वाचनको क्रममा रामेछापबाट प्रदेश सांसद समेत रहेका तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले किसानहरुले उत्पादन गरेको फलफुल र तरकारी राख्नको लागि शीत भण्डार स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । सोही प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रममा समावेश भएको शीत भण्डारको काम सुरु हुने भएपछि सदरमुकाम मन्थली आसपासका कृषक उत्साहित भएका छन् ।

मन्त्री ढुगेलले रामेछाप न्युजसँग भने,‘निर्वाचनको क्रममा जनतासँग गरेको प्रतिबद्धता अनुसार नै काम भइरहेको छ, जिल्लाको विकासमा मन बचन र कर्मको साथ लागि परेको छु, जनताले परिणाम पनि धमाधम देख्न थालेका छन् ।’
करिब ७ करोड लगानीमा निर्माण हुने शीत भण्डार मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण हुनेछ । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले शीत भण्डार निर्माण हुने सहमतिले निकै खुसी बनाएको बताए । ‘लामो समयदेखि शीत भण्डारको माग हुँदै आएको थियो, बजेट अभावमा काम हुन सकेको थिएन, प्रदेश सरकारको बजेटमा निर्माण हुने शीत भण्डारले निकै ठूलो आशा जगाएको छ ।’
५ सय टन क्षमता हुने शीत भण्डारमा मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोसी गाउँपालिकाका किसानलाई फाइदा हुनेछ । शीत भण्डारमा किसानले उत्पादन गरेको फलफुल र तरकारी राख्न सकिनेछ । शीत भण्डार बनाउन मन्त्रालयको तर्फबाट निमित्त सचिव निर्मल गदाल र मन्थली नगरपालिका नगरप्रमुख रमेश कुमार वस्नेतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्