रामेछापमा चर्चा कमाएका डिएसपी कुमोध ढुंगेल निलम्बित



२० काठमाडौं, वैशाक ।

प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी कुमोध ढुंगेललाई निलम्बन गरेको छ । चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको आरोप लागेका ढुंगेल बिहीबार निलम्बनमा परेका हुन् ।
चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठले डिएसपी ढुंगेलको नाम लिएका थिए। र, उक्त घटनाको अनुसन्धानको क्रममा अभियुक्तको फोनमा ढुंगेललाई पठाएको सन्देश र उनीसँगको सम्पर्क देखिएपछि छानबिन गर्न उनलाई निलम्बन गरिएको हो ।


नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेशलिस्ट’ मानिने प्रहरी नायब उपरीक्षक ढुंगेल हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले बिहीबार डिएसपी ढुंगेललाई निलम्बन गरेको पुष्टि गरेको छ । चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको प्रहरी प्रधान कार्यालयको स्रोतले बतायो । स्रोतका अनुसार ढुंगेललाई बिहीबारबाटै निलम्बन गरिएको छ ।

गत चैत २६ गते काठमाडौं २९ स्थित रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका विक्रम श्रेष्ठले घटना गराएकै दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका थिए ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहका अनुसार २८ गते पनि दुई पटक टेलिफोन सम्पर्क भएको देखिन्छ। ढुंगेलले एनसेलबाट २८ गते दिउँसो १२ ः ४७ र पोस्पेड नम्बरबाट दिउँसो ३ः५ मा फोन सम्पर्क भएको देखिन्छ ।
डिएसपी ढुंगेल नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेसलिस्ट’को रुपमा परिचित छन्। डिएसपी ढुंगेलको नेतृत्वमा निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा संलग्न मनोज पुन र सोम आलेको गत वर्ष रुपन्देहीमा इन्काउन्टर भएको थियो । उनी नेपाल प्रहरीमा व्यावसायिक छविका ‘बिरलै’ चिनिने अधिकृत हुन् ।उपेन्द्रकान्त अर्याल महानिरीक्षक हुँदा उनी मोरङ प्रहरीमा थिए ।
रामेछापमा सात बर्षपछि सुन्तली तामाङ हत्याकाण्डका दोषी पक्राउ, खाँडादेवी गाउँपालिकामा गाडीभित्र नै आगो लगाएर एक जनाको हत्या गर्ने दोषी पक्राउदेखि दर्जन भन्दा बढी लोकप्रिय काम गरेका डिएसपी ढुंगेल गत प्रतिनिधिसभा निर्वाचनमा नेकपा सांसद श्यामकुमार श्रेष्ठलाई कार्यक्रम बेथानमा पूर्व निर्धारित कार्यक्रम गर्न दिएका थिएनन् । जसको कारण उनी विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्