प्रदेशभित्र विद्युतीय सवारी चल्छ, अब डिजेल पेट्रोल हटछः मन्त्री ढुंगेल



२६ वैशाक, हेटौडा ।
प्रदेश नम्बर ३ सरकारले आगामी दस बर्षभित्र डिजेल पेट्रोलबाट सञ्चालन हुने सवारी साधन हटाएर विद्युतीय सवारी साधन सञ्चालन गर्ने योजना अगाडि सारेको छ । देशभित्र उत्पादन हुने विद्युतबाटै सवारी साधन सञ्चालन गरेर आत्मनिर्भर बनाउने उदेश्यले प्रदेश सरकारले यस्तो योजना अगाडि सारेको हो । पहिलो चरणमा काठमाडौं उपत्यका, चितवन, मकवानपुर क्षेत्रमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी प्रदेश सरकारले गरेको छ ।

जस अनुसार प्रदेश नं ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले साझा यातायातलाई अगाडि बढाउने निर्णय गर्दै करिब ३० करोड भन्दा बढी लगानी गर्न लागेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका तीन नम्बर प्रदेश सरकारका प्रवक्ता कैलाश ढुंगेलले प्रदेश सरकारलाई समृद्ध बनाउने नीति अनुरुप विद्युतीय सवारी साधन सञ्चालनको काम अगाडि बढाउन लागिएको रामेछाप न्युजलाई बताए ।
उनका अनुसार चार्जिङ स्टेसनको काम साझा यातायातले गर्नेछ । प्रदेश सरकारको झण्डा सहितको गाडी गुडने बताउदै यो अभियानलाई सफल बनाउन नागरिक, राजनीतिक दल लगायत सबै सरोकारवाला निकायको सहयोग हुने विश्वास लिएको मन्त्री ढुंगेलले बताए । प्रदेश सरकारले अगाडि सारेको योजनामा काठमाडौं नगरपालिकाले पनि लगानी गर्नेछ ।

त्यसैगरी बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालीम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत रहने १३ वटा स्वास्थ्य कार्यालयहरुको नेपाली तथा अङ्ग्रेजी नाम, साइनबोर्ड र छाप स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता ढुंगेलले बताए ।

प्रतिक्रिया दिनुहोस्