रामेछापमा कांग्रेसको ५७ सय सक्रिय कार्यकर्ताः जागरण अभियानले जगाउला त आशा ?



२६ वैशाक, रामेछाप ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी रुपमा एक महिने जागरण अभियान सुरु गरेको छ । सरकारले गरेको गलत कामको भण्डाफोर गर्ने र आन्तरिक सांगठानिक एकतालाई मजबुद्ध बनाउने उदेश्यले हिजोबाट जागरण अभियान सुरु भएको हो ।
जागरण अभियान बुधवार सदरमुकाम मन्थलीमा रहेको विपी चोकबाट सुरु भएको छ । केन्द्रीय प्रतिनिधि एवं कांग्रेसका नेता मनमोहन भट्टराईले पिपलको बोटमा पानी हाल्दै जागरण अभियान सुरु गरे । मन्थलीमा रहेको विपीको शालिकमा माल्यापर्ण गर्दै सुरु भएको अभियान रामेछापको गाउँगाउँमा सञ्चालन हुनेछ ।


रामेछापमा कांग्रेसको ५७ सय सक्रिय कार्यकर्ता

रामेछापको ८ स्थानीय तह र ६४ वटा वडामा गरी कांग्रेसको हालसम्म ५७ सय सक्रिय कार्यकर्ता रहेका छन् । जिल्ला कार्यसमिति रामेछापको अुनसार हालसम्म ५७ सय सक्रिय कार्यकर्ता रहेको तथ्याङक छ । कार्यकर्तालाई थप सक्रिय बनाउन र संगठनलाई चलायमान बनाउनको लागि कांग्रेसले निर्वाचन सम्पन्न भएको लामो समयपछि गाउँगाउँ पुगेर कार्यकर्ताको चाहना बुझ्ने अभियान अगाडि सारेको छ ।
रामेछापमा पनि गुटैगुट
केन्द्रमा जसरी शीर्ष नेताहरुले गुट सञ्चालन गरिरहेका छन् । त्यसको प्रभाव रामेछापमा पनि परेको छ । जिल्लामा पनि संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र नेता कृष्ण सिटौलाको पक्षको गुट सक्रिय छ । केन्द्रको सिको जिल्लामा पनि झांगिदै गएको छ । नेताहरुको गुटगत स्वार्थको मारमा कार्यकर्ता परेका छन् । जिल्लामा मात्र होइन वडा कमिटीसम्म नै गुटगत राजनीति रामेछापमा फैलिएको छ ।
कार्यकर्तामा निराशा
कांग्रेस रामेछापको राजनीतिमा लामो समयदेखि सक्रिय रहदै आएका नेता र कर्यकर्ताहरु ओझेलमा परेको भन्दै निराश बनेका छन् । पार्टीको विचार सिद्धान्त र आदर्शलाई भन्दा पनि पैसालाई ठूलो मान्ने प्रवृत्ति बन्दै गएपछि लामो समय पार्टीमा सक्रिय नेता तथा कार्यकर्ताहरु पाखा लाग्ने अवस्था सृजना भएको छ । गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट वितरणमा पार्टीले राजनीतिक रुपमा सक्रिय भएकाहरुलाई भन्दा पनि पैसा भएकाहरुलाई काखी च्यापेपछि जिल्लामा पार्टीका नेता कार्यकर्तामा उत्साह भर्न नसकेको जिल्ला कार्यसमितिका एक सदस्य बताउछन् । उनले भने,‘पार्टीको विचार र सिद्धान्त भन्दा पैसा हुनेहरूकाे बोलवाला भो, अनि पैसा नभएकाहरु कसरी राजनीतिमा टिक्छन ?’

ठेकेदार र व्यवसायीको पछिपछि नेताहरुको लर्को
पार्टीले तय गरेको कार्यक्रमको पछि लाग्नु पर्ने शीर्ष नेताहरु नै पछिल्लो पटक ठेकेदार र व्यवसायीले प्रदान गर्ने एम्बुलेन्स, शव वहान, शैक्षिक सामाग्री वितरण गर्न व्यस्त देखिएका छन् । पार्टीलाई बलियो बनाउने भन्दा पनि गुटलाई बलियो बनाउने अभियानमा सक्रिय रहदै आएका शीर्ष नेताहरुको जिल्ला दौडधुपले कार्यकर्ता हैरान भएका छन् ।
निर्माण व्यवसायी एवं कांग्रेस महासमिति सदस्य प्रतिनिधि पूर्ण बहादुर तामाङ कान्छाराले जिल्लाका विभिन्न स्थानीय तहलाई प्रदान गरेको एम्बुलेन्स वितरण कार्यक्रममा कांग्रेसको शीर्ष नेतृत्व नै सहभागी भएको थियो । त्यसैगरी महाधिवेशन प्रतिनिधि भरत चौलागाईले सहयोगमा वितरण हुने शैक्षिक सामाग्री वितरण कार्यक्रममा पनि शीर्ष नेताहरु सहभागी हुँदै आएका छन् ।
रामेछापमा पछिल्लो समयमा निर्माण व्यवसायी कान्छाराम र चौलागाईले गर्ने सहयोग वितरण कार्यक्रममा नै शीर्ष नेता र जिल्लाका नेता कार्यकर्ताहरु सक्रिय रहदै आएका छन् । पार्टीको कार्यक्रम भने शुल्य प्रायः भएको अवस्थामा पार्टीले जागरण अभियान अगाडि बढाएको हो ।
तीन गुटको प्रभाव दुई गुट सक्रिय
जिल्लामा पार्टी सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाको गुट सक्रिय रहदै आएको छ । केन्द्रमा संस्थापन पक्षको पेलानमा परेपछि नेता कृष्ण सिटौलाले नेता पौडेल पक्षलाई साथ लिएका छन् । अहिले जिल्लामा देउवा पक्ष र पौडेल पक्षको गुट सक्रिय बन्दै आएको छ । पार्टीभित्र विचार र सिद्धान्तको राजनीति भन्दा पनि पैसाको राजनीतिक बढेको भन्दै कार्यकर्तामा पिरलो थपिएको छ । कांग्रेस रामेछापका एक पूर्व पदाधिकारी भन्छन–‘आफ्नो सरकार हुँदा केही गर्न नसक्ने अहिले ठेकेदार र व्यवसायीले किनेर वितरण गर्ने हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुँदा शीर्ष नेताहरुलाई लाज हुनु पर्ने हो तर भएको देखिएन ।’ देश चलाउने बेलामा रामेछापको लागि केही गर्न नसक्ने नेताहरु अहिले निरीह भएर ठेकेदारको पछि लाग्नु गलत छ, उनले भने । पछिल्लो समयमा ठेकेदार र व्यवसायीले निशुल्क रुपमा हेलिकोप्टर चढाएर लाने ल्याउने गरेपछि शीर्ष नेताहरु पनि दंग पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्