प्रदेश ३ को राजधानी तोक्ने प्रस्ताव प्रस्तुतः राजधानी काभ्रे कि हेटौडा ?



३१ वैशाक, हेटौडा ।

प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी यथाशीघ्र तोक्न कार्यविधि ल्याउने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले प्रस्ताव पेश गरेका छन् ।
उक्त प्रस्तावमाथि नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घलेले सर्मथन गरेकी थिइन । बैठकमा कृषि, भूमि, व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले प्रदेशमा जलचरको संरक्षण गर्न बनेको विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए ।


बैठकमा शिक्षा, कृषि र स्वास्थ्य समितिका अध्यक्ष घनश्याम दाहालले प्रादेशिक बीउबिजनको व्यवस्था गर्न बनेको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक जेठ १ गते अपरान्ह् २ः०० बजे बस्ने गरी स्थागित गरे ।
प्रदेशसभाको बुधबार बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷७७ का लागि विभिन्न शीर्षकको बजेटको पूर्वतयारीका लागि छलफल हुने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिए ।
स्थायी राजधानीको विषयमा प्रस्ताव प्रस्तुत भएपछि स्थयी राजधानी कहाँ हुने भन्ने विषयले पनि चर्चा पाएको छ । नेकपाका शीर्ष नेताहरु हेटौडालाई नै स्थायी राजधानी बनाउनु पर्ने पक्षमा छन भने उपत्यका काठमाडौं लगातका प्रदेशसभा सांसदहरु भने काभ्रेलाई नै स्थायी राजधानी बनाउनु पर्ने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्