रामेछापमा १३ हजार जनाले गरे स्वास्थ्य बीमाः घरदैलोमा नै बीमा सेवा



राजन महतारा क्षेत्री
१ जेठ रामेछाप । रामेछाप जिल्लामा बीमा गर्ने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनचेतनाको अभावमा बीमा नगर्ने क्रम बढिरहेको बेलो तीन अघिबाट घरदैलोमा नै सेवा दिने क्रम सुरु भएपछि बीमा गर्नेको संख्यामा बृद्धि भएको हो ।

जिल्लामा वैशाख मसान्त सम्ममा १३ हजार २ सय १० जनाले स्वास्थ्य बीमा गरेका छन् । २०७४ पुस २६ गतेबाट जिल्लामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमको सेवा भने २०७४ पुसमा सुरु भएको थियो । जिल्लामा ६ हजार ३ सय २९ पुरुष र ६ हजार ८ सय ८० महिलाले स्वास्थ्य बीमा गरेका छन ।

८ वटा स्थानिय तह रहेको रामेछापमा सबै भन्दा वढी मन्थली नगरपालिकाका ३ हजार ८ सय ५७ जनाले स्वास्थ्य बीमा गरेका छन । सवैभन्दा कम स्वास्थ्य बीमा गर्ने स्थानिय तह रामेछाप नगरपालिकाका ६ सय ४८ जना रहेका छन् । त्यसैगरी दोरम्बा गाउँपालिकामा १ हजार ७ सय २४, गोकुलगंगा गाउँपालिकामा १ हजार ५ सय ४५, खाँडादेवी गाउँपालिका ९ सय ३६, लिखु तामाकोशी गाउँपालिका ९ सय ३०, उमाकुण्ड गाउँपालिका १४ सय ९१ र सुनापति गाउँपालिकाका २ हजार ८५ जनाले स्वास्थ्य बीमा गरेका छन ।

स्वास्थ्य बीमा बोर्ड रामेछापका दर्ता अधिकृत केशवराज ओझाका अनुसार अहिलेसम्म जिल्लाका ८ वटै स्थानीय तहमा पैसा तिरेर स्वास्थ्य बीमा गर्ने ३२ सय ७३ परिवार रहेका छन् ।
अहिलेसम्म जिल्लाको तथ्याङका आधारमा स्वास्थ्य बीमाबाट ७३ लाख ४२ हजार ३ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ । रामेछापका ८ वटै स्थानीय तहमा ६४ जना स्वास्थ्य बीमा दर्ता सहयोगी घर दैलोमा पुगी बीमा गराउन खटिरहेको स्वास्थ्य बीमा वोर्ड जिल्ला कार्यालयले जनाएको छ । २०६८ सालको जनगणना अनुसार रामेछाप जिल्लामा २ लाख २६ हजार जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्