मन्थलीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर हैकम जमाउने दिए गएः नगर प्रमुख वस्नेत



६ जेठ, रामेछाप ।
एक बर्ष अघि सुरु भएको सडक विस्तारको काम समयमा नै पूरा नहुँदा मन्थलीवासी धुलो र हिलोबाट हैरान भएका छन् । पानी पर्दा हिलाम्य भएर हिडन मुस्किल छ भने घाम लाग्दा कुहिरोजस्तै गरी धुलो उडने गरेको छ । मन्थली बजारमा मुख छोपेर हिडन समेत मुस्किल हुँदै आएको छ । धुलो र हिलोबाट दिक्क भएका मन्थलीवासीले समयमा नै सडक निर्माण गर्नको लागि नगरपालिकालाई दबाब दिदै आएका छन् । तर मन्थली नगरपालिकाकाले सडक विस्तारको क्रममा सार्वजनिक जग्गामा पनि स्थानीयले अनावश्यक किचलो निकालेले काम समयभित्र नै सम्पन्न गर्न नसकिएको बताएको छ ।

नगरवासीले अत्याधिक धूलोको कारण हिडडुल गर्न नै कठिन भएको भन्दै व्यापक रुपमा असन्तुष्टि जनाएपछि मन्थली नगरपालिकाले एक बर्ष अघिबाट सुरु गरेको सडक विस्तारको कामलाई पूर्णता दिन पुनः अतिक्रमित संरचना भत्काउने काम अगाडि बढाएको छ । एक बर्ष अघि तामाकोसी अस्पतालबाट पुलसम्मको सडक विस्तारको काम सुरु भएको थियो । तर सार्वजनिक जग्गामा पनि स्थानीयले अवरोध गरेपछि काम प्रभावित बन्न पुगेको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश वस्नेतले बताए ।

जिल्ला प्रशासन कार्यायलको रोहवरमा नापी कार्यालयले प्रति ऐलानी र सार्वजनिक जग्गा छ्टाएर काम अगाडि बढाउदा पनि अवरोध गर्ने काम भएको बताउदै उनले रामेछाप न्युजसँग भने,‘राम्रो काम गर्दा एकथरी मान्छेहरुलाई भतभती पोलिरहेको छ, ’ऐलानी प्रति जग्गा कब्जा गरेर खाएका छन, भूमाफियाहरुसँगको लडाइँमा यस्तै हुन्छ, अतिक्रम गरेर बनाइएको संरचना भत्काएका छौं ।’

सडक विस्तार गर्ने क्रममा सार्वजनिक जग्गामा बनेका संरचना भत्काइएका बताउदै नगर प्रमुख वस्नेतले कसैको निजी घर नभत्काइएको बताए । नगरपालिकाले नाला सहित १३ मिटरको सडक निर्माण गर्ने गरी सडक विस्तारको काम अगाडि बढाएको छ । ‘जसले जे गीत गाए पनि सार्वजनिक जग्गा अतिक्रम गरेर हैकम जमाउने दिन गए,मेरो निजी स्वार्थ केही छैन’, उनले थपे,‘नगरपाकावासीलाई सेवा सुविधा होस भन्ने मुख्य उदेश्य लिएर काम गरिरहेको छु ।’

सडक विस्तारको क्रममा मदन भण्डारी चोकको जग्गा काटेर सडकमा हालिएको बताउदै नगरपालिकाले कसैलाई माथि पनि पक्षपात नगरेको बताए । सार्वजनिक, ऐलानी जग्गा अझै पनि कसैले कब्जा गरेको रहेछ भने दिनहुँ खोज्छु र सरकार मातहत ल्याउछ’, नगर प्रमुख वस्नेतले भने,‘पदमा बस्ने व्यक्तिले तुलो बराबरी गर्नुपर्छ । नियम अनुसार हुने कुरामा कसैसँग पनि डराउनु पर्ने छैन् । गाली खान म तयार छु तर मन्थली नगरपालिकालाई बनाउछु ।’

प्रतिक्रिया दिनुहोस्