उद्योगी र व्यवसायीहरुसँग सुझाव लिदै रामेछाप नगरपालिका



८ जेठ, रामेछाप ।
रामेछाप नगरपालिकाले नगरभित्रका उद्योगी र व्यवसायीहरुसँग कर तथा राजश्वको बारेमा सुझाव लिने क्रम सुरु गरेको छ । रामेछाप नगर उद्योग वाणिज्य संघसँगको समन्वयमा रामेछाप नगरपालिका राजश्व परामर्श समितिले आज रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरी सुभाव संकलन गरेको हो ।


राजश्व तथा करको अवस्थालाई एकरुपता ल्याउने गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो । छलफलमा स्वघोषित रुपमा कर तिर्ने वातावरण बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
कार्यक्रममा रामेछाप नगरपालिका राजश्व परामर्श समितिका संयोजक सृजना खड्काले आम जनताले तिर्ने करले नै सम्पूर्ण विकासको गतिबिधि हुने बताउदै सबैलाई स्वघोषित रुपमा कर तिर्ने वातावरण बनाउनु पर्ने बताइन ।
आज तिरेको राजस्व भोली हाम्रै घर आगनमा विकासको रुपमा फिर्ता आउने हँुदा सबैले ईमान्दारीपूर्वक सरकारलाई राजस्व तिर्न पनि सरोकारवालाहरुलाई आग्रह गरिन ।

छलफलमा सहभागी व्यवसायीहरुले नगरपालिकाले सिमित मात्रामा कर उठाउनु पर्ने बताउँदै आफुहरुको व्यवसाय प्रवद्र्धन र लगानीमैत्री वतावरणलाई पनि नगरपालिकाले जोड दिनु पर्ने सुझाव दिएका छन् । छलफलमा प्राप्त भएका सुझावलाई नागरिकलाई मर्का नपर्ने गरी राजश्व तथा करको दर निर्धारण गर्न आगामी नगर सभामा सुझाव लैजाने निर्णय गरिएको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरराज दाहाल बताए ।

प्रतिक्रिया दिनुहोस्