रामेछाप जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ उडान हुँदै,पोखरा जानु नपर्ने



९ जेठ, रामेछाप ।
रामेछाप जिल्लामै पहिलो पटक व्यवसायीक रुपमा प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । सुनापती गाउँपालिकाको सुनापती डाँडाबाट यही जेठ ११ र १२ गते परीक्षण उडान गरेर नियमित रुपमा सञ्चालन गरिने भएको हो । सुनापती गाउँपालिकाको आर्थिक सहयोगमा सुनकोसी लहरेमाने, सुनापती पर्यटकीय संरक्षण समितिका आयोजनमा दुई दिन तीन वटा प्याराग्लाइडिङ उडाइने भएको छ ।
पर्यटकी क्षेत्र सुनापती डाँडाबाट प्याराग्लाइडिङ उडान गर्नको लागि यस अघि नै सम्भाव्यता अध्ययनको काम सम्पन्न भइसकेको छ ।समुन्द्री सतहबाट २३ सय मिटर उचाइमा रहेको सुनापती डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नीति अनुसार प्याराग्लाइडिङ उडान गर्न लागिएको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले रामेछाप न्युजलाई बताए ।

तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा यस बर्ष प्याराग्लाइडिङ उडान गर्नको लागि सम्भाव्यताको अध्ययनको काम सम्पन्न भएकाले यस क्षेत्रलाई देशकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सारिएको बताए ।

सुनकोसी लहरेमाने, सुनापती पर्यटकीय संरक्षण क्षेत्रले प्रदेश सरकारबाट प्राप्त बजेटले अध्ययनको गरेको थियो । सुनकोसी लहरेमाने सुनापती पर्यटकीय संरक्षण क्षेत्रका अध्यक्ष राज मैनालीले प्याराग्लाइडिङ अब व्यवसायीक रुपमा नै उडान हुने बताए । ‘पर्यटकी क्षेत्रको विकासमा प्याराग्लाइडिङ उडानले सुनापती गाउँपालिकालाई ठूलो फाइदा हुनेछ, अब प्याराग्लाइडिङमा उडन पोखरा जानु पर्दैन, सुनापती डाँडाबाटै उडन पाइन्छ ।

काठमाडौंबाट करिब एक सय वीस किलोमिटर दुरीमा रहेको सुनापती डाँडामा पुग्न चार घण्टा लाग्छ । सुनापती डाँडाबाट दोलखाको गौरीशकंर हिमाल, सैलुङ क्षेत्र, ऐतिहासिक सिन्धुलीगढी सहजै देख्न सकिन्छ । त्यसैले प्याराग्लाइडिङका लागि यो गन्तव्य उपयुक्त हुन सक्छ ।
सुनापती डाँडाबाट उडान हुने प्याराग्लाइडिङ सुनकोसी नदी किनारसँगै रहेको सिन्दुरेटारमा अवतरण गर्ने अध्यक्ष मैनालीले बताए ।

तीन वटा प्याराग्लाइडिङ उडाउने गरी कार्यक्रम तय गरिएको बताउदै उनले एक पटकमा तीन उडानमा दुई जना मात्र यात्रु उडान मिल्ने बताए । दक्ष प्राविधिकको सहयोगमा परीक्षण उडान हुन लागेको छ, उडान सफल भएपछि हवाई विभागबाट अनुमति लिएर निरन्तर रुपमा उडान भर्ने योजना बनाएका छौ, मैनालीले भने ।

उनका अनुसार एक पटक उडान गर्दा नेपाली यात्रुको लागि ८ हजार र विदेशीलाई १२ हजार शुल्क निर्धारण गरिएको बताए । हवाई रुट नपर्ने भएकाले सुनापती डाँडालाई प्याराग्लाइडिङ उडानको लागि उपयुक्त गन्तव्यको हुने प्राविधिक रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्