यसै बर्षाबाट भारतलाई बिजुली बेच्छौः कुलमान घिसिङ



१० जेठ, काठमाडौंं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङ प्राधिकरणको व्यवस्थापनमा रातदिन खटिदै आएका छन् । जसको कारण एकपछि अर्को सफलता पनि प्राप्त गर्दै आएका छन् । घिसिङकै पहिलमा अब भारतबाट बिजुली खरिद गर्ने मात्र होइन बिक्री गर्ने अवस्थामा पुर्याएका छन् ।

नेपाल विद्युत प्राधिकरणले यहि वर्षातदेखि २०० मेगावाट विद्युत भारत निर्यात गर्ने भएको छ । अहिले रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग रहेको र असारभित्र नेपालले एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने हुँदा रातको समयमा बढि हुने करिब २०० मेगावाट विद्युत निर्यात गर्ने अवस्थामा पुगेको हो

प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी ३ बाट ७४ मेगावाट विद्युत थपिदै छ। त्यसैगरी निजी क्षेत्रका आयोजनाबाट ४० मेगावाट विद्युत थपिइसकेको छ । घिसिङले वर्षातमा सबै आयोजना पूर्ण क्षमतामा चलेमा एक हजार एक सय मेगावाटभन्दा बढि विद्युत उत्पादन हुने र रातको सयमा ९०० मेगावाट हाराहारी मात्रै विद्युत खपत हुने हुँदा २०० मेगावाट विद्युत निर्यात गर्ने सकिने बताए । उनका अनुसार अहिले पिक समयमा एक हजार एक सय ९५ मेगावाट विद्युत माग छ । नेपालले भारतबाट अहिले पिक समयमा ४७२ मेगावाटसम्म विद्युत आयात गरिरहेको छ ।

अहिले नेपालले भारतबाट औसत ३०० मेगावाट विद्युत आयात गरिरहेको छ। साँझको एक घण्टा मात्रै साढे पाँच सय मेगावाट विद्युत आयात गरिरहेको छ । अन्य समयमा २०० मेगावाट मात्रै विद्युत आयात भइरहेको प्राधिकरणको दावी छ । घिसिङले आगामी वर्ष ५० बढी आयोजनाबाट करिब एक हजार तीन सय मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको तल्लो सोलु, ४२.५ मेगावाटको साञ्जेन लगायतका आयोजना र यो वर्ष विद्युत उत्पादन गर्न नसकेका १२० मेगावाटका ९ आयोजना समेत गरी एक हजार दुई सय ७० मेगावाट विद्युत उत्पादन हुने प्राधिकरणको प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस्