मन्थलीमा जिल्लाकै ठूलो अत्याधुनिक सभा हल बन्दै



११ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा अहिलेसम्मकै अत्याधुनिक सभा हल निर्माण हुने भएको छ । जिल्लामा ठूला कार्यक्रम सञ्चालन गर्न सभा हलको अभाव भएपछि मन्थली नगरपालिकाले आधुनिक र व्यवस्थित सभा हल निर्माण गर्न लागेको हो ।

हाटेचौरमा निर्माण गर्न लागिएको सभा हलमा एक पटकमा एक हजार जना अटाउने गरी डिजाइन भएको छ । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले हाटेचौरमा अत्याधुनिक हल निर्माण गर्न लागिएको रामेछाप न्युजलाई बताए । उनले भने,‘सभा सम्मेलन गर्दा हलको अभाव झेल्दै आएका छौ, अब अत्याधुनिक हल निर्माण गछौं ।’

। डिजाइनको जिम्मेवारी पाएको इन्जिनियरकाे घर प्रालिका प्रबन्ध निर्देशक सरोज कुमार कार्कीले मन्थलीमा निर्माण हुने अत्याधुनिक सभा हलको डिजाइनको काम अन्तिम चरणमा पुगेको रामेछाप न्युजलाई बताए । करिब चार करोड लगानीमा जिल्लाकै सबै भन्दा ठूलो सभा हल निर्माण हुन लागेको हो ।
सभा हलको साथै पचास÷पचास जना अटाउने थप दुई वटा हल पनि निर्माण हुने छ । जहाँ पत्रकार सम्मेलन र सानो कार्यक्रम हुँदा सञ्चालन गर्न सकिनेछ । कार्कीले हाटेचौरमा निर्माण गर्न लागिएको सभा हल अत्याधुनिक प्रविधि जडान गर्ने गरी डिजाइन भइरहेको बताउदै पाँच÷पाँच सय जना अटाउने दुई वटा कार्यक्रम हुँदा फोल्डिङ गरेर सञ्चालन गर्न मिल्ने बताए ।

मन्थलीमा पाँच सय जना अटाउने सामुदायिक हल र मन्थली माविमा दुई सय जना अटाउने हल रहेको छ । मन्थली माविको मिडिया हलमा दैनिकजसो कार्यक्रम हुने गरेपनि सामुदायिक हलमा पनि खासै कार्यक्रम हुने गरेका छैनन् । रामेछापका स्थानीय तहमा सभा हल निर्माण भइरहे पनि हाटेचौरमा निर्माण हुन लागेको जिल्लाकै ठूलो सभा हल हो । संघीय सरकारले विनियोजन गरेको बजेट अनुसार मन्थली नगरपालिका, स्वीमिङ पुल, पार्क र सभा हल निर्माण गर्न लागेको नगर प्रमुख वस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्