‘प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’



११ जेठ, काठमाडाैं ।
‘प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् । प्रदेश नं ३ ले आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशङ्कर नाम उपर्युक्त हुने सुझाव दिएका हुन् । नेकपाका नेता एवं प्रदेश सांसद पशुपति चौलागाईं, पूर्वमन्त्री गणेश शाह, प्रदेश सांसदद्वय विशाल खड्का र दीपेन्द्र श्रेष्ठ, डा प्रदीप मैनालीसहितले प्रदेशभरको अपनत्व र प्रतिनिधित्व हुने साझा नाम गौरीशङ्कर हुने सुझाव दिएका छन् ।

सो नामकरणको निर्णय गर्न सांसद खड्काले गत साता प्रदेशसभामा प्रस्ताव दर्ता गराइ सकेका छन् । त्यसलाई कार्यान्वयन गर्न सबै प्रदेशमा समन्वय गर्नका लागि वरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ ।
“पवित्र हिमालको नाम भएको र नेपालको समय निर्धारणसमेत गौरीशङ्कर भएकाले यो नाम उपयुक्त हुन्छ भनेर हामीले अभियान थालेका हौँ”, कार्यक्रममा वरिष्ठ कलाकार एवं संयोजक श्रेष्ठले भने ।

नेता चौलागाईंले नाम र राजधानीको विषयमा प्रदेशसभाको यही अधिवेशनमा मतदान हुने औँल्याउँदै गौरीशङ्कर हुनसक्ने सम्भावना रहेको बताए ।
डा मैनालीले गौरीशङ्करको महीमा पशुपतिदेखि त्रिशूलीसम्म जोडिएको प्रसङ्ग झिक्दै हिमालय पर्वत शृङ्खलाबाटै नामकरण गर्दा उचित हुने भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्