भूमिगत जलस्तर किन घट्दै छ ?



विराटनगर — अठासी वर्षीय वातावरणविद् तोरेन्द्रमान सिंह प्रधानलाई आफ्नो स्वास्थ्यभन्दा तराई मधेसमा घट्दै गएको भूमिगत जलस्तरको चिन्ता छ । अचेल उनी ‘समय अनुकुल वर्षाका लागि विरुवा रोपौं, भूमिगत जलस्रोत बचाऔं,’भन्ने नाराका साथ सचेतना फैलाउदै हिंडेका छन् । 

विराटनगरको तीनटोलियास्थित आफ्नो आक्वा पार्कमा भेटिएका प्रधानले वनजंगल विनासको भूमिगत जलस्रोतको तहमा असर परेको बताए । उनले तराईको मुख्य सहरहरू भविष्यमा खानेपानीको विकराल समस्याबाट जुध्नु पर्ने बताए । ‘साढे पाँच दसक अघि मेरो घरको जग खनिंदा चार फिटमै पानी आएको थियो,’ उनले भने, ‘पानीको बहावलाई रोक्न मुन्तिर बालुवाले भरिएका बोरा राख्नुपरेको थियो ।’
विराटनगरको जहदामार्गस्थित उनको निवासमा अहिले भने ३०/४० फिट खनेपछि मात्र पानी आउने गरेको छ । प्रधानको अनुसार यस्तै स्थिति रह्यो भने अन्य मुलुकहरूमा झैं भावी पुस्ताले पानीकै लागि सँघर्ष गर्नुपर्छ । उनले भने, ‘उचाइँमा रहेको उत्तरी माथिल्लो भागमा पानीको लागि १ सय ६५ फिट मुनिसम्म बोरिंग गर्नुपरेको छ, त्यै पनि राम्रो पानी आइरहेको छैन ।’
वातावरणप्रति बेलैमा सचेत नभएमा मुलुकको अन्य भाग झैं यहाँ पनि पानीकै कारणले बस्तीका बस्ती बसाइँ सर्ने स्थिति आउन सक्ने उनले संभावना व्यक्त गरेका छन् । सहरीकरणसँगै प्राकृतिक जंगल मासिंदै जानु र वातावरण संरक्षणका मुद्दा, सन्धि एवं संझौता कागतमै सीमित हुनु यसको मुख्य कारण भएको प्रधानले बताए ।
वन अनुसन्धान तथा सर्वेक्षण विभागको अनुसार प्रदेश १ को कुल १८ प्रतिशत वन मध्ये गाउँपालिकामा १८.१ प्रतिशत, नगरपालिकामा १८.४ प्रतिशत, उपमहानगरपालिकामा १४.६ प्रतिशत वन क्षेत्र छ । तर विराटनगर महानगरपालिकामा शुन्य वन क्षेत्र छ । विशेषज्ञहरूले कम्तिमा आधा हेक्टर वन भएको र त्यसभित्र रुखको छत्रले १० प्रतिशत ढाकेको क्षेत्रलाई वन क्षेत्र भनेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको अनुसार देशभित्रका नदीनालाहरूको सरदर वार्षिक बहाव करिब २ सय २५ अर्ब घन मिटर छ । पुनर्भरणयोग्य भूमिगत जल ५.८ र ११.५ अर्ब घन मीटरको बीचमा रहेको अनुमान गरिएको छ । तराईमधेसमा भूमिगत जलस्रोतको सतह घट्दै गएको हुनाले संरक्षणकालागि त्यो अनुरुपको आयोजना अघि बढाइने मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका सहसचिव सुनीलचन्द्र तिवारीले चुरे क्षेत्रमा पुर्नभरणयोग्य भूमिगत जलको पहिचान कार्य अघि बढेको बताए । ‘कार्य योजना र बजेट दुवैमा यो परेको छ,’ उनले कान्तिपुरसँग भने, ‘अर्को वर्षसम्म काम सुरु भइसक्नेमा आशावादी छौं ।’
महानगर विराटनगरकी उपमेयर इन्दिरा कार्कीले पूर्वाधार निर्माण सकिएको ठाउँमा वृक्षरोपण अभियान जारी रहेको बताइन् । ‘यो महानगरलाई हामी वातावरण प्रेमीहरूको नगर बनाउने लक्ष्य राखेका छौं,’ उनले भनिन्, ‘महानगरभित्रको खोला किनारमा वन विकासलाई प्राथमिकतामा राखेका छौं, दीर्घकालीन टेवा पुग्ने गरी चरणबद्ध रूपमा अघि बढिरहेका छौं ।’
वन तथा भूसंरक्षण विभागले १ सय ६ स्थानमा वन क्षेत्र शून्य भएको जनाएको छ । विराटनगर, विरगन्ज, जनकपुर र कलैयालाई बढी प्रभावित क्षेत्र मानिएको छ । इटहरी–धरानको मध्य भागमा रहेको तरहराको चार कोसे जंगल विनाशले पानीको सतह गहिरिँंदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्