सित्खाबाट खाँडादेवी मन्दिरसम्म केबलकार निर्माण गर्न ४ अर्ब



स्नेहा सिलवाल

१७ जेठ, काठमाडौं । रामेछाप जिल्लाभित्र पहिलो पटक केलबकार निर्माण हुने निश्चित भएको छ । प्रदेश ३ को सरकारले जिल्लाको सित्खाबाट खाँडादेवी मन्दिरसम्म केबलकार निर्माण गर्नको लागि सम्भाव्यता अध्ययनको काम सम्पन्न गरेको हो । सित्खाबाट खाँडादेवी मन्दिरसम्म पाँच किलोमिटर दुरीमा अब केबलकार सञ्चालन हुने भएको हो ।

तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार केलबकार निर्माण गर्न सम्भाव्यता अध्ययनको काम सम्पन्न भएसँगै अब डिटेल प्राजेक्ट रिपोर्ट (डिपिआर)को काम अगाडि बढने भएको छ । प्रदेश ३ को सरकारले आगामी बजेटमा डिपिआरको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता मन्त्री ढुंगेलले गरेका छन् ।

मन्त्री ढुंगेले रामेछाप न्युजसँग भने,‘निजी, सहकारी र सरकारी मोडलमा केबलकार निर्माण गर्नुपर्छ ।’ निजी साझेदारी मोडलमा जादा लगानी जुटाउन गाह्रो हुँदैन, प्रदेश सरकारले केलबकार निर्माणको काम अगाडि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्छ, उनले भने ।

सम्भाव्यता अध्ययनको अनुसार पाँच किलोमिटर दुरीमा करिब पाँच वटा टावर रहने भएको छ । नेकपाका नेता ज्ञान कुमार श्रेष्ठले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा थप प्रचार प्रसार गर्न केबलकारले निर्माणले ठूलो सहयोग पुग्ने रामेछाप न्युजलाई बताए । उनका अनुसार केबलकार निर्माणको लागि लगानी जुटेको अवस्थामा तीन बर्षभित्र निर्माण कार्य सम्पन्न हुन्छ ।

रामेछापको सित्खामा स्टेसन रहने छ । सित्खा बजारबाट कमराती मझुवा बाल्पा गाल्चे हुँदै खाँडादेवी मन्दिरसम्म केलबार निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश ३ सरकारले गत बर्ष सित्खा खाँडादेवी, अग्लेश्वर हुँदै सैलुङसम्म बेलकार निर्माण गर्न सम्भाव्यता  अध्ययन गर्ने बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रम अन्तर्गत पहिलो चरणमा सित्खाबाट खाँडादेवी मन्दिरसम्मको पाँच किलोमिटर दुरीमा केबलकार निर्माणको लागि सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले केबलकार निर्माणको काम अगाडि बढाउन गाउँपालिकाले भूमिका निर्वाह गर्ने बताए । ‘स्थानीय सरकारले केबलकार निर्माण गर्दैन, निजी कम्पनीले नै निर्माण गर्ने हो, गाउँपालिकाको तर्फबाट निर्वाह गर्ने भूमिका निर्माण गरेर निर्माणको कामलाई सहज रुपमा अगाडि बढाउछौं, ‘उनले रामेछाप न्युजसँग भने,‘निर्माण गर्ने कम्पनीले गाउँपालिकावासीलाई पहिलो प्राथमिकतामा राखेर शेयर दिनुपर्छ ।’

केबलकार निर्माण गर्न इच्छुक उद्योगी व्यवसायीहरुलाई निर्माण चरणमा आउने कानुनी झन्झट हुन नदिने पनि अध्यक्ष तामाङले प्रतिबद्धता व्यक्त गरे । डिपिआरको रिपोर्ट आएपछि निर्माण कार्य सुरु भएको तीन बर्षमा सित्खाबाट खाँडादेवीसम्म केबलकार सञ्चालनमा आउने छ । केबलकार निर्माणको लागि सम्भाव्यता अध्ययन भएपछि खाँडादेवीवासीमा खुसी छाएको छ ।

प्रतिक्रिया दिनुहोस्