गाल्वा–दोरम्बा सडक निर्माण, अब बर्षामा पनि गाडी सरर…..



१८ जेठ, रामेछाप ।
रामेछापको गाल्वा–दोरम्बा सडकमा अब बर्षाको समयमा पनि सहज रुपमा यातायात सञ्चालन हुने भएको छ । तीन नम्बर प्रदेशको ५० लाख, दोरम्बा गाउँपालिकाको १० लाख लगानीमा सात किलोमिटर सडकको स्तरउन्नती गरेपछि यातायात सहज रुपमा सञ्चालन हुने भएको हो ।
बर्षाको समयमा दोरम्बावासीले सास्ती खेप्दै आएपछि तीन नम्बर प्रदेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार पचास लाख बजेट पार्नको लागि पहल गरेका थिए ।

गाउँपालिकाको केन्द्र टोकरपुर जोडने मुख्य सडकको रुपमा रहेको गाल्वा–दोरम्बा सडकमा सोलिङ, जाली भर्ने, सडकको ग्रेडिङ मिलाउने कार्य सम्पन्न भएपछि बर्षाको समयमा पनि समस्या नआउने दोरम्बा गाउँपालिका–२ का वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले रामेछाप न्युजलाई बताए । उनले भने,‘विगतमा बर्षाको समयमा सडक अवरुद्ध हुने अवस्था थियो, यस बर्षबाट अब यातायात सञ्चालन गर्न ढुक्क भएको छ ।’

गत बर्ष पनि पचास लाख भन्दा बढी बजेटमा उक्त सडकको स्तरउन्नतीको काम भएको थियो । बर्षाको समयमा गाल्वाबाट गाडी जान समस्या थियो, अब हिउद बर्षा नै गाडी सरर चल्ने अवस्था सृजना भएको छ, अध्यक्ष श्रेष्ठले भने ।
गाल्वा– दोरम्बा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गुण बहादुर योञ्जनाले करिब ६ मिटर चौडाइको सडक निर्माणको काम सम्पन्न भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्