खाँडादेवी गाउँपालिकाको कुवापानीमा पानी भेटिएपछि खुसीयाली (भिडियासहित)



१८ जेठ, रामेछाप ।
खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित कुवापानीमा पाँच बर्ष अघि सुकेको पानी पुनः फेला परेको छ । २०७२ वैशाक १२ गते गएको विनाशकारी भुकम्पको कारण स्थानीयले उपभोग गर्दै आएको खानपानीको कुवा सुकेको थियो ।

पानी कुवा सकेपछि स्थानीयलाई सास्ती थपिएको थियो । तर शनिवार सडक निर्माणको क्रममा पुरानो कुवा भएको स्थानमा स्काभेटरले खन्ने क्रममा पानी भेटिएपछि स्थानीयमा खुसीयाली छाएको छ । करिब १५ फिटको गहिराइमा पानीको मुहान फेला परेको खाँडादेवी गाउँपालिका–६ का वडा अध्यक्ष पुष्कर कार्कीले रामेछाप न्युजलाई बताए । उनका अनुसार खानेपानीलाई व्यवस्थित गर्न गाउँपालिकाले आवश्यक बजेट गर्न आफूले पहल गर्ने बताए ।

स्थानीय रमेश केसीले पुरानो कुवा खन्ने क्रममा १६ इन्चको पानी फेला परेको बताउदै निकै ठूलो खुसी प्राप्त भएको बताए । उनले भने,‘यही अवस्थामा निरन्तर पानी आएको अवस्थामा चालिस घरधुरीलाई पिउने पानीको समस्या हुँदैन ।’

खानेपानीको हाहाकार भएको बेलामा पानीको मुहान भेटिदा ढुंगा खोज्दा देउता मिलेजस्तो भएको छ, केसीले रामेछाप न्युजसँग भने ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले खानेपानी निरन्तर रुपमा आएको अवस्थामा स्थानीयवासीलाई सुविधा पुग्ने गरी पूर्वाधार निर्माण गरिने बताए ।

हेर्नुहोस यसरी निस्कियो वेपत्ता भएको पानीको मुहान भिडियाे

प्रतिक्रिया दिनुहोस्